एउटा डाक्टर, जो माइतीघरमा एक्लै उभिएर भन्दैछन्– मेरो भत्ता हरायो !

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : ०९


काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा १ जना व्यक्ति विगत केही दिनदेखि हातमा प्लेकार्ड बोकेर उभिरहन्छन्, र सडकमा बस्छन् पनि ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले लगाउने सेतो एप्रोन लगाएर माइतीघरमा उभिने ती व्यक्तिले बोकेको प्लेकार्डमा लेखिएको हुन्छ– मेरो कोभिड १९ को भत्ता हराएको सूचना ।

आफ्नो भत्ता हराएको सूचना लेखिएको प्लेकार्ड बोकेर माइतीघर मण्डलामा एक्लै उभिने व्यक्ति हुन् डा अजित मलिक ।

मीभवनस्थित निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा कार्यरत उनी कोरोना भाइरस संक्रमण जोखिमका बीच आफ्नो स्वास्थ्यको ख्याल नगरी काम गर्दाको भत्ता नपाएपछि एक्लै सडकमा उत्रिएका हुन् ।

उनी सेतो रंगको एप्रोन लगाएरै माइतीघर मण्डलास्थित सडकमा एक्लै उभिन्छन्।

उनले हातमा समातेको प्लेकार्डमा लेखिएको छ– ‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना–कृपया पाउने महानुभावले सम्पर्क गरिदिनुहोला। मास्क, सेनिटाइजर र सामाजिक दूरी कायमै छ। तर सरकारको नियत कायम छैन !! सरकार।’

सरकारले गत वर्ष नै कोभिड १९ रोकथाममा संलग्न स्वास्थ्यकर्मीलाई अतिरिक्त पारिश्रमिक (भत्ता) प्रदान गरिने भनेको थियो । तर, धेरै स्वास्थ्यकर्मीले अहिलेसम्म पनि कोरोना भत्ता पाएका छैनन् ।

महामारीको समयमा आफ्नो ज्यान जोखिममा राखेर खटिँदा पनि सरकारले दिने भनेको भत्ता नपाउँदा आफू प्रदर्शनका लागि सडकमै उत्रिनुपरेको डा मलिकले सुनाए ।

कोरोना संक्रमितको उपचारमा खटिँदा आफै संक्रमित हुँदासमेत भत्ता नपाएको उनी बताउँछन् ।

सरकारले वेवास्ता गरेका कारण दबाब सिर्जना गर्न आफूले प्लेकार्डसहित प्रदर्शन गरिरहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्