सवारी चालकमाथि मापसेसँगै गाँजा सेवनको परीक्षण सुरु

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : ३९


काठमाडौं । ललितपुरमा सवारी चालकहरुले लागुऔषध सेवन गरे नगरेको पत्ता लगाउन परीक्षण शुरु गरिएको छ ।

आइतबारबाट ललितपुरमा र्‍यापिड टेस्ट किटको प्रयोगबाट लागुऔषध सेवन परीक्षण सुरु गरिएको हो । यसअघि मादक पदार्थ (मापसे) मात्र जाँच हुँदै आएकोमा आइतबारबाट यस्तो परीक्षण थालिएको हो ।

ललितपुका विभिन्न १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले र्‍यापिड टेस्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागुऔषध सेवनको परीक्षण सुरु गरेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले भनिन्, “र्‍यापिड टेस्ट किटको प्रयोगबाट हुने परीक्षणले गाँजा र ट्बालेट प्रयोग गरेको तत्काल जानकारी हुन्छ । त्यस्तो पाइए अहिले ट्राफिक नियमानुसार नै कारबाही गरिरहेका छौँ । यसबाहेक हामी ट्रयाक रेकर्ड हेर्छौँ, निरन्तर सेवन गर्ने देखिए अन्य कानुन पनि आकर्षित हुन्छ ।”

टिपर, मोटरसाइकल, ट्रकलगायत केही चालकले गाँजा सेवन गर्ने गरेको पाइएको एसएसपी बज्राचार्यले बताइन् । निरन्तर रुपमा लागुपदार्थ सेवनको परीक्षणलाई अघि बढाउने उनको भनाइ छ ।

आइतबार लागुऔषध सेवन परीक्षण किट प्रयोग गरिएकोमा तीनजनाको नतिजा पोजिटिभ आएको थियो । सवारी–साधन जाँचको क्रममा ललितपुरमा १६ जनालाई नियन्त्रणमा लिनुका साथै ४३५ जनालाई ट्राफिक कारबाही समेत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्