६ दिनअघि अड्किएको पानीजहाज सारियो

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : २७


सूइज नहरमा गत मङ्गलवारदेखि अड्किएको स्थानबाट एउटा विशाल पानीजहाजलाई हटाइएको छ ।

सोमवार ‘एभर गिभन’ नामक उक्त जहाजको अगाडिको भागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको भिडियोहरु सार्वजनिक भएका छन् । पानीजहाज कम्पनी इन्चकेपले पनि उक्त पानीजहाज अड्किएको स्थानबाट हटाइएको बीबीसीले जनाएको छ ।

एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र ड्रेजरहरू प्रयोग गरिएको थियो ।

इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १९३ किलोमिटर लामो छ । त्यसलाई संसारको एउटा अतिव्यस्त व्यापारिक मार्ग मानिन्छ ।

एभर गिभन पानीजहाजका कारण उक्त जलमार्ग अवरुद्ध हुँदा सूइज नहरमा संसारकै सबैभन्दा महँगो ट्राफिक जाम भएको बताइएको थियो ।

अवरोधका कारण धेरै जहाजहरू अफ्रिकातिरको मार्गमा मोडिएका थिए । धेरै दिनदेखि उक्त अवरोध हटाउन नसकिएकाले भार कम गर्ने प्रयासस्वरूप आइतवार एभर गिभनबाट २०,००० वटा कन्टेनर निकालिएको बताइन्छ ।

विशेषज्ञहरूले यसअघि बीबीसीलाई उक्त पानीजहाजलाई अड्किएको स्थानबाट सार्न विशेष उपकरण चाहिने र त्यसका लागि केही साता लाग्न सक्ने बताएका थिए । अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो र ५९ मिटर चौडा उक्त जहाजले जलमार्ग बन्द गरिदिएको थियो ।

पानामामा दर्ता एभरग्रीन शिपिङ कम्पनीको उक्त जहाजका कारण दर्जनौँ अरू पानीजहाजहरू अड्किएका थिए । एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो नहरको बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुने गरेको बताइन्छ ।

सूइज नहरबाट सन् २०२० मा मात्रै १९,००० पानीजहाज ओहोरदोहोर गरेको तथ्याङ्कले देखाउँछ।

 


प्रतिक्रिया दिनुहोस्