६ सय ६० जनालाई भन्सार एजेन्टमा अवसर

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १२ : २९


काठमाडौं । भन्सार एजेन्टको इजाजतपत्र लागि अनलाइन दरखास्त आह्वान खुला भएको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै ६ सय ६० जनाका लागि आवेदन माग गरेको हो ।

भन्सार नियमावली, २०६४ को नियम ३७, उपनियम १ बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि देहाय बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिले विभागको वेवसाइट मार्फत अनलाइन दरखास्त दिन सक्नेछन् ।

विभागको सूचना अनुसार २१ वर्ष पूरा गरेका नेपाली नागरिकले विभागको वेवसाइटमा गएर दरखास्त दिन सक्नेछन् । त्यसका लागि भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिंकमार्फत् दरखास्त दिनुपर्नेछ ।

परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ । दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ । २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ ।

इच्छुक उम्मेदवार स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । कम्प्युटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ ।

लामो समय पछि विभागले पहिलो पटक ठूलो संख्यामा एजेन्टको लाइसेन्सका लागि आवेदन माग गरेको हो ।

करिब २० वर्षअघि विभागले चार सय भन्सार एजेन्टलाई लाइसेन्स दिइएको थियो । लामो समयसम्म एजेन्टका लागि आवेदन नहुँदा हाल एक सय ७० जना मात्र एजेन्ट रहेका छन् ।

विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको छ ।

भन्सार एजेन्टका लागि आवेदन दिन बीए वा सोसरहको शैक्षिक योग्यता आवश्यक हुन्छ भने साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ ।

यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ ।

भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।

 


प्रतिक्रिया दिनुहोस्