म्यानमारको सैन्य दमनविरुद्ध बोले १२ देश, नेपाल मौन

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : १५


काठमाडौं । अमेरिका, जापान र अस्ट्रेलियासहित १२ देशले म्यानमारमा सेनाले गरेको रक्तपातको संयुक्त रूपमा विरोध गरेका छन् । ती देशका रक्षा प्रमुखहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेकाे खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

विज्ञप्तिमा हस्ताक्षर गर्नेमध्ये अमेरिका, जापान र अस्ट्रेलियाले भनेका छन्, ‘सेनाले अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्दछ र आफूले सेवा गर्ने जनतालाई हानी पुर्‍याउने होइन उनीहरूका सुरक्षाका लागि जिम्मेवार रहन्छ ।’

सेनाले शनिबार ४० भन्दा बढी स्थानमा गोली प्रहार गर्दा सयभन्दा बढी प्रदर्शनकारी मारिएका थिए । अमेरिकाले म्यानमारको सुरक्षा फौजलाई ‘आतंकको शासन’को संज्ञा दिँदै शनिबारलाई कू पछिकै सबैभन्दा भयानक दिन भनेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शनिबारको घटनाले सैन्य शासकहरू केही व्यक्तिको फाइदाका लागि नागरिकको जीवनमाथि धावा बोलिरहेको बताए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेसले घटनाले आफू मर्माहत भएको बताए ।

शनिबार हिंसाकै बीच सेना प्रमुखले सेना दिवस मनाउने क्रममा ठूलो भोजको आयोजना गरेका थिए । शनिबारको मारिएकामध्ये एक प्रदर्शनकारीको आइतबार भएको अन्त्येष्टिमा भेला भएकाहरूमाथि सुरक्षा फौजले गोली प्रहार गरेको छ ।

म्यानमारको सैन्य दमनविरुद्ध नेपालले भने बोलेको छैन । नागरिक समाजले सैन्य दमनविरुद्ध बोल्न सरकारलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्