त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : ४८


त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु–२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोलीले निर्धारित समयमा गोल गर्न सकेनन्।

त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न नेपाल आएको किर्गिस्तानको यु–२३ टोलीले आर्मी क्लबसित मैत्रीपूर्ण खेल खेलेको हो। दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो।

दुवै टोलीले गोल गर्ने मौका पाए पनि सफल भने हुन सकेनन्। खेलको पहिलो मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठले गोलपोष्टमा हानेको बल किर्गिस्तानका गोलकिपर प्रिएदकिन अर्तेमले रोके।

यस्तै खेलको २६औँ मिनेटमा किर्गिस्तानका तर्फबाट अभिलोभ अर्नाजले गोल गर्ने उत्कृष्ट मौका गुमाए। मध्यान्तरअघिको खेल सकिनै लाग्दा आर्मीका विवेक बस्नेतले गोल गर्ने प्रयास गर्नुभएको तर उहाँ गोल गर्नबाट चुके।

यसैगरी खेलको ७३औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठ गोल गर्नबाट वञ्चित भए।यस्तै किर्गिस्तानले खेलको ८६औँ मिनेटमा गोल गर्ने मौका पाएको थियो।

उक्त प्रयास पनि असफल भयो। मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीबाट गोलका प्रयास भएका थिए।

किर्गिस्तान त्रिदेशीय प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो।

आफ्नै खेलाडीले आत्मघाती गोल गरेपछि किर्गिस्तान पराजित हुन पुगेको हो।

नेपालले किर्गिस्तान र बंगलादेशसित गोलरहित बराबरी खेलेको थियो।

नेपालले अब सोमबार बंगलादेशसँग दशरथ रंगशालामा फाइनल खेल खेल्ने छ।

उक्त खेल साँझ ५ बजेर ३० मिनेटमा शुरु हुने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्