जनता समाजवादी पार्टीको माग पूरा नगर्न नेकपा मसालको आग्रह

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : ०७


काठमाडौं । सरकारले जनता समाजवादी दलको माग सम्बोधन गरेर सरकारमा सहभागी गराउने चर्चा चलिरहेका बेला मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले मधेशवादी दलको सर्त स्वीकार नगर्न सरकारलाई चेतावनी दिएको छ।

सरकार टिकाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशवादी दलको सर्त स्वीकार गरेर रेशम चौधरीको रिहाइ र संविधान संशोधनका लागि तयार भएको भन्दै त्यसो नगर्न खबरदारी गरेको हो।

हालै सम्पन्न मसालको बैठकले सरकार गठनका लागि भइरहेका अपवित्र गठबन्धन हुन नदिन वामपन्थी शक्तिहरुबीच नै सहकार्य हुनुपर्नेमा जोड दिएको छ।

महामन्त्री सिंहले आइतबार एक वक्तव्य प्रकाशित गरी संसदको पुनर्स्थापनापछि सरकार गठनका लागि मधेशवादीहरुले राजनीतिक सौदावाजी गर्ने वा गलत प्रकारले दबाब दिने गरेको भन्दै त्यस्तो हुन नदिन पूर्व नेकपाको एकीकरण वा संयुक्त मोर्चा भएर वामपन्थी सरकारको गठन नै तात्कालिक विकल्प भएको ठहर गरेका छन्।

वक्तव्यमा भनिएको छ, ‘मधेशवादीहरूले संविधानमा जुन प्रकारका संशोधनहरूको माग गरिरहेका छन्, तिनीहरूबाट तराईको विखण्डनमा मद्दत पुग्ने, देशको राष्ट्रियता र अखण्डतामा आँच पुग्ने, स्थानीय निकायहरुको अधिकारमा कटौती हुने, देशमा विदेशी नागरिकहरुको सङ्ख्या बढेर जाने, अङ्गीकृत नागरिकताको लागि वंशजका नागरिकसरह अधिकार प्राप्त हुने तथा समग्र रुपमा देशको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर आँच पुग्ने सम्भावना रहनेछ।’


प्रतिक्रिया दिनुहोस्