इनारमा डुबेर ७ बर्षीय बालकको मृत्यु

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ७ : ३३


तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा आज सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ। सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको हो।

स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इनारमा डुबेर सख्त घाइते भएका बालकको उपचारको लागि दमौली अस्पतालमा पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

त्यसैगरी व्यास नगरपालिका–२ गणेशमान चोकमा एक बालकलाई ठक्कर दिएर फरार भएको पल्सर मोटरसाइकललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको व्यास नगरपालिका–१३ बेनीकोट घर भएका तीन वर्षीय रोनिक थापालाई ठक्कर दिई फरार रहेको लु ७० प ७९३० नम्बरको पल्सर प्रहरीले नियन्त्रणमा लिएको हो।

ठक्करबाट सख्त घाइते भएका ती बालकको पोखरास्थित गण्डकी मेडिकल सेन्टरमा उपचार भैरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्