प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  २ : ३८


काठमाडौं । प्रतिनिधिसभालाई प्रभावकारी र जीवन्त बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बाालुवाटारमा आज भएको छलफलमा उनीहरूबीच सङ्घीय संसद्मा विचाराधिन रहेका महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने विषयमा कुराकानी भएको हो।

प्रतिनिधिसभालाई कसरी जीवन्त र जनमुखी बनाउन सकिन्छ भन्ने बारेमा उनीहरूबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच प्रतिनिधिसभाको बैठक सञ्चालनको समग्र प्रक्रियाबारे कुराकानी न्यौपानेले उल्लेख गरे।

गत फागुन ११ गते प्रतिनिसभाको पुनःस्थापना भए पनि हालसम्म बैठक महत्वपूर्ण कार्यसूचीमा प्रवेश गरेको छैन।

हिउँदे अधिवेशनलाई विशेष गरी विधेयक अधिवेशनका रुपमा लिइन्छ। प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गतेका लागि बोलाइएको छ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच पछिल्लो समय सम्बन्ध बिग्रीएको छ।

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममै सभामुखप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा चलेको आरोप लगाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्