लोकतन्त्रको रक्षाका लागि अर्को १०० वर्ष लड्न तयार हुनुपर्छ– सभामुख सापकोटा

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : ३०


काठमाडौं । सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त राख्न आफ्नो तर्फबाट सधैँ भूमिका खेल्ने बताएका छन् ।

संसदलाई तठस्त र जनमुखी बनाएरै छाड्ने पनि सापकोटाले प्रतिवद्धता व्यक्त गरेका छन्। त्यसका लागि शीर्ष नेताहरुसँग आफूले निरन्तर संवाद गरिरहेको उनले बताए ।

संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन तथा ‘हाम्रा माननीय’ नामक पुस्तक विमोचन समारोहलाई शनिबार सम्बोधन गर्दै सभामुख सापकोटाले संसदमा अपेक्षा अनुसार काम नभएको स्वीकार गरे ।

प्रधानमन्त्रीले संसद विघटन गरेको पुष ५ देखि सर्वोच्च अदालतले संसद ब्यूँताएको फागुन ११ सम्म विश्व विद्यालयमा जस्तो सिकाइको अवस्था रहेको सापकोटाले बताए।

‘निकै उतारचढाव र महान बहसपछि यहाँ आइपुगेका छौँ । समुन्द्र मन्थल भयो, अब संसदले गति लिएको छ, सही दिशामा अघि बढेको छ’, सापकोटाले भने, ‘तर बहस अझै सकिएको छैन ।’

‘मेरो भूमिका इतिहासले मूल्याङ्‍कन गर्नेछ । संविधानवाद र जनताको थलो कायम राख्‍ने काम गर्नेछु,’ सापकोटाले अगाडि भने, ‘सिङ्‍गो देशको गरिमा अघि बढाउने जिम्मेवारी मलाई दिएको छ । यसमा म सचेत छु ।’

सभामुख सापकोटाले संसद् बहसको थलो भएको उल्लेख गर्दै त्यहाँ व्यक्त हुने विचारप्रति सद्‍भाव रहने बताए । उनले अहिले केही अन्योलको अवस्था देखिए पनि निराश हुन जरुरी नभएको बताएका छन् ।

‘बहस र संघर्ष चलिरहन्छ । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठेको छ । यसको रक्षाका लागि अर्को १०० वर्षसम्म लड्न तयार हुनुपर्छ,’ सभामुख सापकोटाले भने ।


प्रतिक्रिया दिनुहोस्