रेशम चौधरी रिहाइ माग गर्दै माइतीघरमा बसेको धर्नामा पुगे गृहमन्त्री

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादीका सपाका सांसद रेशम चौधरी रिहाइको माग गर्दै माइतीघर मण्डलमा बसेको धर्नामा गृहमन्त्री रामबहादुर थापा पुगेका छन् ।

टीकापुर हत्याकाण्डका मुख्य दोषी चौधरीको रिहाइका लागि बिहीबार बसेको धर्नामै पुगेर गृहमन्त्री रामबहादुर थापा बादलले सम्बोधन गरेका हुन् ।

सरकारले नेत्रविक्रम चन्द विप्लव र छुट्टै राज्य मागसहित आन्दोलनरत सिके राउतलाई मूल धारमा ल्याए पनि पहिचानको लडाइँमा होमिएका चौधरीसहितलाई नछाडेको भन्दै थारु अगुवाहरु आन्दोलित छन् ।

माइतीघरमा धर्ना दैनिक एक घन्टा हुँदै आएको छ । माग मुद्दा सुनुवाइका लागि थारु अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

२०७२ भदौमा कैलालीको टीकापुरमा नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको घटनाका मुख्य योजनाकारका रुपमा परिचित छन् रेशम चौधरी । तर थारु समुदायले मुद्दा फिर्ता र दोषी ठहर भइ जेल पुगेकालाई छाड्न मागसहित यही आइतबारदेखि धर्ना दिइरहेका छन् ।
सत्ता गठवन्धनबारे छलफलमा रहेको जसपालेसमेत चौधरीको रिहाइलाई मुख्य शर्त बनाइरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्