काठमाडौंको फुटपाथमा नक्कली नोटले तरकारी किनेपछि…

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । नक्कली नोटको कारोबार गर्ने गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले बुधबार २ जनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार एक महिला र एक पुरूष नक्कली नोटसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका-१ घर भइ काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३९ वर्षीय माया तामाङ र रौतहट गुजरा नगरपालिका-२ घर भइ कीर्तिपुर नगरपालिका-३ बस्ने ३५ वर्षीय गनबहादुर लोप्चान छन् ।

बुधबार राति साढे ८ बजे काठमाडौं-१४ कलंकीस्थित फुटपाथमा एकजनाले तरकारी किन्दा नक्कली नोट दिएको भन्दै प्रहरीमा सूचना पुगेको थियो । सोही सूचनाको आधारमा नक्कली नोट दिने व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले मायालाई पक्राउ गरेको हो ।

हुलियाको आधारमा खोजी गर्ने क्रममा पक्राउ परेकी मायाको साथबाट प्रहरीले नेपाली रुपैयाँ ५ सय दरका ९ थान नक्कली नोट फेला पारेको थियो ।

मायालाई पक्राउ गरी कालिमाटी बृत्तमा ल्याएर सोधपुछ गर्ने क्रममा उनले आफूसँगै नक्कली नोटको कारोबार थप १ जना पनि संलग्न रहेको बताएकी थिइन् ।

मायाको बयानका आधारमा प्रहरीले गनबहादुर लोप्चनको खोजी गरेको थियो । प्रहरीले बुधबार राति नै कीर्तिपुरस्थित डेराबाट प्रहरीले लोप्चनलाई नियन्त्रणमा लिएको हो ।

लोप्चनको कोठाबाट प्रहरीले ५१ वटा एक हजारको नक्कली नोट, ५७ वटा पाँच सयको नोट, दुइटा एक सयको नोट, प्रिन्टर, फोटोकपी पेपर, पेपर कटर, स्केल, चार वटा प्रिन्टर मसी, दुइटा मोबाइल र एउटा ल्यापटप बरामद गरेको हो ।

नक्कली नोटसहित पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्