प्रदेश–१ मा एकै दिन १३ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं, १२ चैत । प्रदेश–१ मा बुधबार एकै दिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको खबर नेपाल समाचारपत्र दैनिकमा छ । प्रदेशका विभिन्न प्रयोगशालामा ३ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ७ पुरुष र ६ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको थियो । तर, भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगैं संक्रमितको संख्या नेपालमा पनि बढ्न थालेको हो ।

प्रदेश–१ मा हालसम्म २ लाख २८ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ जसमा ३० हजार ३ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २९ हजार ७ सय ९७ जना डिस्चार्ज भएका छन् ।

अहिले ४४ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमण देखिएकामध्ये ४ सय ६६ जनाको मृत्यु भएको छ । प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८ सय ५३ लाई लगाइएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्