त्रिदेशीय फुटबल प्रतियाेगिताः किर्गिस्तान विरुद्ध आज नेपाल खेल्दै

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा बुधबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा गोलकिपरका रुपमा विकेश कुथु र दीपक कार्की, डिफेन्डरमा विराज महर्जन, रन्जित धिमाल, रोहित चन्द, निशान लिम्बू, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी र छिरिङ गुरुङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल र रविशङ्कर पासवान तथा फरवार्डमा दर्शन गुरुङ, अञ्जन विष्ट, अविशेक रिजाल र भरत खवास रहेका छन् । नेपालले आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा किर्गिस्तानको युथ २३ टोलीविरुद्ध खेल्ने छ ।

त्रिदेशीय प्रतियोगिताअन्तर्गत यसअघि मङ्गलबार बङ्गलादेश र किर्गिस्तानबीच पहिलो खेल भएको थियो । उक्त खेलमा बङ्गलादेशले किर्गिस्तानको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

उक्त प्रतियोगितामा किर्गिस्तानका खेलाडीले आत्मघाती गोल गरेका थिए । जितसँगै बङ्गलादेशले तीन अङ्क बटुलेको छ । प्रतियोगिताअन्तर्गत शनिबार नेपाल र बङ्गलादेशबीच लिग चरणको अन्तिम खेल हुने छ ।

प्रतियागिताको आयोजना एन्फाले गरेको हो । यसअघि गत वर्ष मंसिरमा दशरथ रङ्गशालामा १३औँ दक्षिण एशियाली खेलकूद (साग) भएको थियो । त्यसयता कोरोना भाइरसको महामारीका कारण कुनै पनि अन्तर्राष्टिय फुटबल प्रतियोगिता हुन सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस्