‘लामपुच्छ्रे चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


चितवन । चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ्रे चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको हो ।

चितवनमा पहिलो पटक यस चराको फोटो मिलन तामाङले खिचेका थिए। रारा, मकालु वरुण, लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजङ्गा संरक्षण क्षेत्रमा भेटिने ‘लामपुच्छ्रे चाँचर’ चितवनमा पनि देखिएको बर्ड एशोसिएशन सोसाइटी सौराहा चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिए।

एक हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा पाइने यो चरा अहिलेसम्म चितवनमा देखिएको थिएन। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा यो चरा आगन्तुकका रूपमा दर्ता भएको छ ।

यो चरासहित अब चितवनमा ६५७ प्रजातिका चरा पाइन्छन् । ‘लामपुच्छ्रे चाँचर’ चरा भुटान, चीन, लावस म्यानमार, थाइल्याण्ड, भितयतनामा पाइने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा चरा हेर्नका लागि पनि धेरै पर्यटक आउने गर्छन् । विभिन्न देशबाट लामो दूरी तय गर्दै चरा जाडो छल्नका लागि यहाँ आउने गर्छन् ।


प्रतिक्रिया दिनुहोस्