३३ करोडमा बिक्री भयो ज्याक डोर्सीको पहिलो ट्वीट

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


माइक्रो ब्लगिङ साइट ट्वीटरका संस्थापक एवम् सीईओ ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको एक डिजिटल भर्सन करिब ३३ करोडमा बेचिदिएका छन् ।

डोर्सीले दुई हप्ता अगाडि आफूले गरेको पहिलो ट्वीट पोस्टको डिजिटल लिलामीको घोषणा गरेका थिए ।

उनले ट्वीटरमा पहिलो ट्वीट मार्च सन् २००६ मा गरेका थिए । जसमा लेखिएको थियो, ‘जस्ट सेटिङ अप माई ट्वीटर’ अर्थात् ‘भर्खरै मैले ट्वीटर खाता खोलें’ ।

गत शुक्रबार डोर्सीले ट्वीटका लागि स्थापित अनलाइन बजार ‘भ्यालुएबल्स बाई सेन्ट’ मा एउटा लिंक राखेका थिए । यहाँबाट लगानीकर्ता वा संग्रहकर्ताले आफ्ना ट्वीटहरु किनबेच गर्न पाउँछन् ।

भ्यालुएबल्स बाई सेन्टका अनुसार यो ट्वीटलाई ब्रिज ओरेकलका सिइओ सीना एस्टेवीले खरिद गरेका हुन् ।

१५ वर्ष पुरानो पोस्टलाई एनएफटी अर्थात् नन फंजीबल टोकनको रुपमा बेचिएको हो । एनएफटी एक डिजिटल प्रमाणपत्र हो जसले चीज असली हो भनेर पुष्टि गर्छ ।

डोर्सीले यो महिनाको सुरुवातमा ट्वीट बेचेर पाएको पैसा गैरनाफामूलक अफ्रीकी संस्था गिव डायरेक्टलीलाई दिइने घोषणा गरेका थिए ।

यो च्यारिटी संस्था कोरोना भाइरस महामारीका कारण आर्थिक मुश्किल झेलिरहेका अफ्रिकी परिवारका लागि पैसा जम्मा गरिरहेको छ ।

भ्यालुएबल्स बाई सेन्टका अनुसार ९५ प्रतिशत रकम ट्वीट गर्नेलाई दिइनेछ र ५ प्रतिशत रकम प्लेटफर्मले पाउनेछ ।

डोर्सीले सोमबार बिटक्वाइनको रसिद ट्वीट गर्दै फन्ड च्यारिटीलाई पठाइने जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्