माधव नेपाल र चिनियाँ राजदूत यान्छीसँग प्रचण्डको भेटवार्ता

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेकपा एमाले भित्रको अन्तर्विरोध उत्कर्षमा पुगेको समयमा वरिष्ठ नेता नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका लागि खुमलटार पुगेका हुन् ।

छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको स्रोतको भनाइ छ ।

नेकपा एमालेमा माधव नेपालहरुलाई अध्यक्ष ओलीले पेलिरहेको भन्दै केही समय अघि मात्र प्रचण्डले नेता नेपालले एमालेलाई कव्जा गर्ने वा विद्रोह गरेर आफूहरुबीच एकता हुने बताएका थिए ।

एमालेमा नेता नेपाल पक्षले प्रचण्डले भनेजस्तै कव्जा गर्ने अवस्था भने नबन्ने देखिएको छ । अध्यक्ष ओलीले नेता नेपाल समुहसँग छलफल र सरसल्लाह गर्ने भन्दा पनि पेलेरै अघि बढ्ने संकेत गरेका छन् ।

एमाले र माओवादी केन्द्रको एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) लाई सर्वोच्च अदालतले पुरानै अवस्थामा फर्काइदिएपछि देशको राजनीतिक तरल बनेको छ ।

नेकपामा अध्यक्ष ओली र प्रचण्ड माधवसमूहबीच तनाव जारी रहँदा सर्वोच्च अदालतले पूर्व दललाई ब्यूँताइदिएको थियो ।

नेकपामा रहँदा अध्यक्ष प्रचण्डसँगको मोर्चाबन्दीमा रहेका नेता माधव कुमार नेपाल यतिबेला एमालेमा अध्यक्ष ओलीविरुद्ध लडिरहेका छन् ।

पार्टी पुनः स्थापित भएपनि ओलीले एकलौटी रुपमा पार्टी सञ्चालन गर्न खोजेको, अध्यक्ष र महासचिव राखेर आफू पक्षधर पदाधिकारीहरुको पद खोसेको र माओवादी केन्द्रबाट आएकाहरुलाई कुनै सरसल्लाह नगरि पार्टीमा जिम्मेवारी दिएको भन्दै नेपाल पक्ष आक्रोशित बनेको थियो ।

नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नै आयोजना गरेर ओलीप्रवृत्ति विरुद्ध लड्ने र समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो र त्यस अनुसारका गतिविधिहरु सञ्चालित छन् ।

त्यसबीचमा ओलीले केन्द्रीय कमिटी बैठक राख्दै नेता नेपालसहित ४ नेतामाथि स्पष्टिकरण माग गर्ने निर्णय गरेको थियो र त्यसको पत्र आजै नेताहरुलाई दिइएको छ । अब त्यसको जवाफ कस्तो आउँछ भन्ने हेर्न बाँकी रहेको छ ।

यसैबीच आजै विहान नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेकी छिन् ।

प्रचण्डसँगको भेटमा यान्छीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रको अवस्थाका बारेमा चासो राखेको स्रोतको भनाइ छ ।

यान्छीले तत्कालीन नेकपा फुटको संघारमा पुगेको समयमा पनि सक्रियता देखाएकी थिइन् र नेकपाका नेताहरुलाई एक हुन दवाव दिएको समाचारहरु सार्वजनिक भएका थिए । यद्दपी दुई पार्टीको एकतालाई अदालतले अस्वीकार गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्