सभामुख भन्छन्- प्रधानमन्त्रीलाई भेट्न समय मागेको छु, खबर आउला

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि समय मागेको बताएका छन् ।

संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीसँग समय मागेको सापकोटाले बताएका हुन् ।

संसदलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्नका लागि समय मागेको र खबर आउने अपेक्षा राखेको सापकोटाले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार प्रधानमन्त्रीसँग भएको भेटका क्रममा छलफलका लागि समय मागेको सापकोटाले सुनाए ।

‘कानूनमन्त्रीमार्फत कुरा भइरहेको थियो । त्यो कुरा प्रधानमन्त्रीसँग पुगेको रहेछ,’ पत्रकारहरुसँगको भेटमा सापकोटाले भने, ‘आज (सोमबार) राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुराकानी भयो । समय मागेको छु, खबर आउला ।’

सभामुख सापकोटाले संसद्‌मा आएका अध्यादेश आवश्यक रहेको र तिनलाई अगाडि बढाउन संसद् तयार रहेको पनि बताए ।

दलहरूबीच छलफल भइरहेको र निष्कर्ष निस्किने पनि सभामुख सापकोटाले अपेक्षा राखे ।

‘सरकारले ल्याएका कुरा अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन,’ सभामुख सापकोटाले भने, ‘निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु । निष्ठाका साथ अगाडि बढ्छु ।’

संसद नभएका बेला सरकारले ल्याएका अध्यादेशहरु पहिलो बैठकमै पेस गर्नुपर्ने चलन छ । प्रतिनिधिसभा पुन:स्थापना भएको पहिलो बैठकमा दलहरुको अवरोध भएकोले अध्यादेश पेस हुन नसकेको सभामुखले बताए ।

उनले ती अध्यादेश टेबुल गर्न नियम निलम्बन गरेर अगाडि बढ्नेबारे दलहरूबीच छलफल चलिरहेको बताए ।

उपसभामुख निर्वाचनको लागि राजनीतिक दलहरू तयार भएमा आफू प्रक्रिया अगाडि बढाउन तयार रहेको पनि सापकोटाले बताए ।

पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले विघटनको निर्णय बदर गरिदिएपछि प्रतिनिधि सभा पुन:स्थापना भइ बैठक अधिवेशन चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्