क्रिकेट टोलीका मुख्य प्रशिक्षक व्हाटमोर सातै प्रदेश पुग्ने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपाल क्रिकेट संघले क्रिकेटलाई स्थानीय स्तरसम्म पुर्‍याउने अभियान शुरु गर्ने भएको छ ।

उक्त अभियानअन्तगर्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेव व्हाटमोर सात वटै प्रदेश पुग्नेछन् ।

आगामी बुधबार प्रदेश नम्बर १ बाट उक्त कार्यक्रमको सुरुवात हुनेछ ।

नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद्सँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

अभियानको क्रममा ४ दिनसम्म उच्चस्तरीय क्रिकेट क्लिनिक सञ्चालन हुनेछ । जसमा प्रमुख प्रशिक्षक डेव व्हाटमोरले स्थानीय स्तरका प्रतिभावान खेलाडीसँग साक्षात्कार गर्नुका साथै क्रिकेट प्रतिभाको पहिचान गर्नेछन् ।

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुग्दा स्थानीय खेलाडीमा क्रिकेटप्रति थप अभिरुची बढ्ने नेपाल क्रिकेट संघ (क्यान) को अपेक्षा छ ।

कार्यक्रममार्फत स्थानीय प्रशिक्षक समेत प्रशिक्षणको नयाँ एवम् आधुनिक बिधिबारे जानकार हुने अपेक्षा गरिएको छ ।

नेपालको हाल कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तालिका छैन् । उक्त रिक्त अबधिलाई सदुपयोग गर्न संघले क्रिकेटलाई स्थानीय स्तरसम्म पुर्याउने प्रयास स्वरुप अभियान सञ्चालन गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्