एमालेमा लागेका बादलका मान्छे प्रचण्डतिर फर्किए

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को खास मान्छे भनेर चिनिएका बिरु तामाङ ‘सुविद्’ र सुदिप ढुंगाना पुष्पकमल दाहाल प्रचण्डतिरै फर्किएका छन् ।

ढुंगाना पहिले वाईसीएलमा सचिव थिए भने वाईसीएल र प्रजातान्त्रिक राष्ट्रिय युवा संघको एकीकरणपछि बनेको युवा संघको केन्द्रीय सदस्य भए ।

यसअघि तामाङ बादलको स्वकीय सचिव थिए । नेकपाको विवादमा बादलले प्रधानमन्त्री ओलीलाई साथ दिएपछि पहिले राजनैतिक सल्लाहकार सूर्य सुवेदी पथिक र त्यसपछि तामाङले उनको साथ छाडेका छन् । हालै सम्पन्न युवा संघको भेलामा तामाङ वाईसीएल पुनर्गठनपछिको संयोजकका हैसियतले सहभागी थिए ।

तामाङले त्यतिबेला विचारको डण्डा लगाएर आफूहरूलाई धोका दिएको हाल युवा संघमा रहेका पूर्व वाईसीएल कार्यकर्ताले बताएका छन् । तामाङ बिरोधीहरूले उनलाई वर्षमान पुन ‘अनन्त’ को खास मान्छे भन्ने गरेका छन् ।

युवा संघमा आएपछि पनि अनन्तसँगको खास सम्बन्धका कारण अधिकांशलाई ओली पक्षतिर लाग्नबाट रोकेको उनीहरूको आरोप छ ।

माओवादी केन्द्र समर्थित धेरै युवा केपीतिर नजाउन् भनेर बिरुले शुरुदेखि नै पूर्व वाईसीएलहरूलाई रणनीतिक हिसाबले रोकेको रहस्य अहिले आफूहरूले थाहा पाएको युवा संघमा रहेका पूर्व वाइसीएल कार्यकर्ताले बताएका छन् । तर तामाङ र ढुंगाना फर्किएपनि आफूहरू भने माओवादी केन्द्रतिर नफर्कने उनीहरूको दाबी छ ।

उनीसङ्गै ओलीतिर गएका पुष्प श्रेष्ठले भने एमाले जिन्दावाद,बहुदलीय जनवाद जिन्दावाद भनेर फेसबुकमा लेख्न भ्याइसकेका छन् । जनआस्थाबाट


प्रतिक्रिया दिनुहोस्