ढाकामा राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षीको स्वागत, २१ तोपको सलामी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणको सिलसिलामा सोमबार ढाका पुगेकी छिन् ।

बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा भागलिनका लागि राष्ट्रपति भण्डारी ढाका पुगेकी हुन् ।

बंगलादेशको स्थानीय समयानुसार बिहान १०ः१७ बजे बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले भण्डारीलाई हजरत शाहजालाल विमानस्थलमा स्वागत गरेका थिए ।

भण्डारीलाई विमानस्थलमा बंगलादेशी स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएको छ ।

भण्डारीको स्वागतमा विमानस्थलमा बंगलादेशी विदेशमन्त्री, स्वास्थ्यमन्त्री, रेलमन्त्री, विदेश राज्यमन्त्री लगायत उपस्थित थिए ।

आजै नेपाली राष्ट्रपतिले ढाकाको सावर पुगेर बंगालदेशी स्वतन्त्रता आन्दोलनका शहिदको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम छ ।

भण्डारीले सावरमा वृक्षारोपण गर्ने र आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्नेछिन् ।

अपरान्ह राष्ट्रपति भण्डारी आफ्नो सम्मानमा त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले आयोजना गर्ने नेसनल परेड स्क्वायरमा उपस्थित हुने कार्यक्रम छ ।

भ्रमण दलमा राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा भेषराज अधिकारी सहभागी छन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारीसमेत गरी ५४ जना भ्रमण दलमा सहभागी रहेका छन् । राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी मङ्गलबार अपराह्न ४ः५५ बजे स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

तस्वीर–बीडीन्यूज२४ डट कम


प्रतिक्रिया दिनुहोस्