खुवालुङ निरीक्षणमा जाँदै प्रदेश १ का सांसदहरु

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । पछिल्लो केही दिनयता सप्तकोशीमा रहेको खुवालुङ(ढुंगा) चर्चामा रहेको छ ।

सप्तकोशीमा पानी जहाज चलाउनका लागि उक्त ढुंगा बाधक भएको भन्दै सरकारले हटाउन लागेपछि त्यसको विरोध भइरहेको छ ।

किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ फुटाउने तयारी गरिएपछि उक्त समुदाय मात्र होइन प्रदेश नम्बर १ सहित देशभर विरोध भइरहेको छ र उक्त ढुगांको संरक्षण गर्नुपर्ने माग उठिरहेको छ ।

प्रदेश नम्बर १ का अधिकांश सांसदहरुले खुवालुङ फुटाउने सरकारी योजना किराँत संस्कृति माथिको धावा हुने बताउँदै हाल चलिरहेको संरक्षण अभियानमा साथ दिने बताएका छन ।

प्रदेश १ का तीन जिल्ला भोजपुर, उदयपुर र धनकुटाको सीमास्थलमा रहेको त्रिवेणीमा रहेको यो ढुंगो (खुवालुङ) लाई फुटाउने योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभामा बताएका थिए । तर चौतर्फी विरोध भएपछि तत्कालका लागि खुवालुङ फुटाउने योजना तत्कालका लागि रोकिएको छ । तर सरकारले विभिन्न विकल्पहरुबारे सोचिरहेको र त्यो जस्ताको तस्तै कार्यान्वयन भए किराँती इतिहासको अलिखित अभिलेख र आस्थाको केन्द्र माथिने यो ढुंगा पुरानै स्वरुपमा नरहने अनुमान गरिएको छ ।

सप्तकोशीमा पानी जहाज जसरी नि चलाउने योजनामा रहेको ओली सरकारले उक्त ढुंगालाई विस्थान गर्न खोजिरहेको छ र त्यसका लागि बटेज पनि विनियोजन गरिसकिएको छ ।

यसैबीच सोमबार(आज) प्रदेश नम्बर १ का केही सांसदहरु आज खुवालुङ अवलोकनका लागि जाँदैछन् । त्यहाँ पुगेर उनीहहरुले खुवालुङ क्षेत्रको अवलोकन गर्ने, स्थानीयबासी, आन्दोलनरत समुदाय लगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

‘किराँत समुदायको ऐतिहासिक सम्पदा संरक्षण गरिनुपर्छ यसलाइ फुटाउने वा केही भाग फुटाएर सार्ने बिकल्प मान्य हुँदैन’, माओवादी केन्द्रका नेता एवम् प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले भने ‘सम्भव भएसम्म नदीको वहाव परिवर्तन गरेर जलयातायत सन्चालनका लागि सहजीकरण गरिनुपर्छ।’

प्रदेश १ का पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका आङ्बोले स्थानीय जनता, सरोकारवाला किराँती समुदाय र विज्ञको परामर्श गरेर बिकल्प खोज्नु पर्ने बताउँदै सम्पदा बिनाश गर्नेतर्फ जान नहुने बताए ।

‘किराँत समुदायको यो अभियानमा साथ दिन आज हामी विभिन्न दलका आधा दर्जन सांसद् खुवालुङ जाँदैछौं’, उनले भने ‘त्यहाँ पुगेर सम्पदा मास्ने सरकारी कदमविरुद्ध ऐक्यबद्धता जनाउनेछौं।’

खुवालुङको कथा

‘‘खु’ भनेको नदी ‘वा’ भनेको पानी र ‘लुङ’ भनेको ढुंगा हो । किराँतीहरूको धार्मिक तथा ऐतिहासिक आस्थाको केन्द्रलाई ‘खुवालुङ’ भनिएको हो ।

अनुसन्धाता एवम् लेखक भोगिराज चाम्लिङका अनुसार मुन्धुमी लोककथाअनुसार किराँतीका पुर्खा खुवालुङ क्षेत्रबाट बाँडिएका हुन् ।

तर, सप्तकोशीमा भएको ‘खुवालुङ’ फगत् पानीमा भएको ढुङ्गा मात्र होइन । किराती समुदायको सांस्कृतिक धरोहर हो । खुवालुङ किरातीहरूको मिथकसँग जोडिएको छ । किराती मुन्दुम (धर्म दर्शन) सँग जोडिएको छ खुवालुङ । खुवालुङ किराती समुदायको साझा सांस्कृतिक केन्द्र र किराती पुर्खाहरू छुट्टिँदाको सिमाना ढुङ्गा हो ।

कथाअनुसार परापूर्वकालमा किराती पुर्खाहरू पूर्वी तराईदेखि पहाडतिर कोशीको तीरैतीर जाँदै थिए । खुवालुङ भएको स्थानमा पुग्दा अदृश्य शक्तिले बाटो छेक्यो । ढोका बन्द भयो । बुसुरु नाम गरेका पुर्खाको टोलीलाई आपत आइलाग्यो । बुसुरुले उपाय रचे । जुरेली चरा समाएर मुन्दुम फलाक्दै बाटो खोलिदिन अनुरोधसहित भोग दिएपछि खुवालुङ खुल्यो ।

बुसुरुको टोली नदी पछ्याउँदै उकालो चढ्यो । ढोका फेरि बन्द भयो । पछि आएका छछप्पाले बुसुरुलाई सोधे, ‘कसरी ढोका खुल्यो ?’ बुसुरुले रगत चढाएपछि खुवालुङ खुलेको सुनाए । छछाप्पाले बाहिनीको खुट्टाको कान्छीऔंला काटेर रगत चढाए । खुवालुङ खुल्यो । त्यसपछि ढोका सधैँको लागि खुलेको कथा छ ।

ढोका त खुल्यो । तर, छछाप्पाको बहिनीको औंलाको रगत रोकिएन । हिँड्दै जाँदा खुवालुङ खुलाउन औंला काटिएको चेलीको दुःखद् निधन भयो ।

मुत्यु हुनुपूर्व बाटोमा औषधि गर्ने क्रममा केराको पातमा बिरामी चेलीको रगत खस्यो । रगत लत्पतिएको घाँस बाख्राले खायो । चेलीको रगत लत्पतिएको घाँस खाएको देखेपछि किरातीहरूले बाख्रा (खसी, बोका) को मासु खान छाडेका हुन् । अधिकांश किराती समुदायले खसी, बाख्राको मासु हालसम्म खाँदैनन्, खान हुँदैन भन्ने मान्यता छ ।

युवायुवतीले खसी, बोकाको मासु खाए पनि पितृ (चुला, माछाकुक्मा) राखिसकेपछि वा घरको मुल्की भइसकेपछि खाएमा बिसाउँछ वा बिरामी हुन्छन् । यसरी छछाप्पा, वाछप्पालगायतको टोली नदी पछ्याउँदै पहाडतिर लागेर रस्तीबस्ती बसाएको मिथक छ ।

अर्को कथाअनुसार मुकुबुङ, हर्कबुङ, रिब्लबुङ तीन दाजुभाइ क्रमशः जेठा, माइला र कान्छा थिए । दुई दाजुभाइको टोली पहाडतिर लागे पनि कान्छा रिब्लबुङ उकालो आउने क्रममा खुवालुङ पुग्दा दाजुहरू कता गए पत्ता पाएनन् । फर्केर तराईतिरै झरे । रिब्लबुङको सन्तान थारु, धिमाल, दनुवार, कोच, मेचे भए भन्ने कथा छ ।

राई, लिम्बू, याक्खा, सुनुवारलगायत जात विभाजनअघि पुर्खाहरू नदी–खोला पछ्याउँदै पहाडतिर लाग्ने क्रममा खुवालुङबाट छट्टिएका थिए । पुर्खाहरू बिछोडिएको सम्झनाको रूपमा पनि खुवालुङको महत्व रहेको छ ।

सामाजिक रूपले अध्ययन गर्दा राई, लिम्बू, याक्खा र सुनुवार समुदायको बस्ती  कुनै न कुनै नदी आसपासमा विकास भएको पाइन्छ । तमोर आसपासमा लिम्बू, अरुण, पिखुवा खोलामा बान्तावा, याक्खा, याम्फूहरू, लिखुखोलामा सुनुवार, दूधकोशी थुलुङ, साप्सुखोला आसपासमा चाम्लिङभाषी राईहरूको विकास भएको पाइन्छ । सम्पूर्णभाषी किराती समुदायको मूल थलो कुनै न कुनै नदी, खोलाहरूमा भएको पाइन्छ । विकासक्रमलाई हेर्दा पनि किराती पुर्खाहरू नदी, खोला पछ्याउँदै पहाड लागेको कुरा पुष्टि हुन्छ ।

खुवालुङको अर्को महत्व मुन्दुममा व्याख्या हुनु र मुन्दुमी (धामी) हरूको शक्ति आर्जनको स्रोत पनि हो । परापूर्वकालमा पूर्वी पहाडीक्षेत्रमा किरातीहरूको एकल बसोबास थियो । त्यसबेला समाजको नेतृत्व नछुङ, नाक्छो, फेदाङ्मा (धामी) हरूले गर्दथे । किराती समुदायको जन्मदेखि मृत्युलगायतका संस्कारमा धामी आवश्यक पर्दछ ।

धामी सामासर्दम (धामी बस्दा आवश्यक सामग्री) सहित थान थापेर मुन्दुम फलाक्न थालेपछि भौतिक रूपमा एकै स्थानमा बसेको देखिए पनि मुन्दुमको शक्तिले उँधो, उँभो (अभौतिक, आत्मिक यात्रा) गर्दछन् । कोही नदी, खोलैखोला त कोही डाँडा पहाड हुँदै यात्रा गर्छन् ।

नछोङ, नाक्छो, फेदाङ्माहरू चिन्ता (धामी) बस्दा पितृदेव (कोकुमा पिरिमा), धारा पँधेरा, सिमेभूमे, सिकारी, देउराली हुँदै उँभो (उत्तर) मा कैलाशसम्म र उँधोमा खुवालुङसम्म आएर शक्ति आर्जन गर्दछन् । उँधो झर्दा खुवालुङ हुँदै थारुवाजु भन्ने स्थानसम्म पुग्छन् । थारुवाजुमा थारु दाजुभाइहरूसँग भेटेर फर्किने चलन छ ।

मुन्दुम किराती समुदायको श्रुति, स्मृति र मौखिक परम्परामा आधारित धर्म तथा जीवन दर्शन हो । मुन्दुमलाई दन्त्यकथा, लोककथा, थुथुरीवेद पनि भन्ने गरिन्छ । यसको अर्थ हालसम्म मुन्दुम व्यवस्थितरूपमा लिपिबद्ध छैन ।  चिन्ता (धामी) बस्दा नछुङ, फेदाङ्माले ढ्याङ्ग्रो, थालको तालमा मुन्दुम फलाक्दै शक्ति आर्जन गर्ने र बिरामीलाई झारफुकदेखि दिवङ्गत आत्मालाई बाटो देखाउँदै टुङ्गो लगाउने गर्दछन् । यसरी मुन्दुममा खुवालुङको प्रसङ्ग उल्लेख छ ।

मुन्दुम र धामी संस्कार मानव समुदाय जङ्गली (फिरन्ते) अवस्थादेखि नै सुरु भएको मानिन्छ । समाज १० हजार वर्षअघि कृषियुगमा प्रवेश गरेसँगै मुन्दुम र मुन्दुमी (धामी) संस्कार पनि परिष्कृत भएको पाइन्छ । धामीहरू भौतिकरूपमा नपुगे पनि उँधोमा खुवालुङ, थारुवाजु र उँभोमा वापाचुङ, तेर्पाचुङ, शाल्पा, कैलाश हिमालय हुँदै नियामासम्म पुग्दछन् ।


प्रतिक्रिया दिनुहोस्