तलब वृद्धिभन्दा महँगी वृद्धि बढी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत मूल्य वृद्धि २ दशमलव ७० प्रतिशतले बढ्दा तलब तथा ज्यालाको सूचकांक भने १ दशमलव ७७ प्रतिशतले मात्र बढेको खबर आर्थिक अभियान दैनिकमा छ ।

यसअवधिमा तलबको वृद्धि शून्य भए पनि ज्यालाको वृद्धि बढी हुँदा समग्रमा तलब तथा ज्याला वृद्धि भएको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार समग्रमा तलब तथा ज्यालादर बढी देखिनुको कारण गत माघ महीनामा २ दशमलव २७ प्रतिशतले ज्यालाको दर बढेकाले हो तर यसअवधिमा तलबको वृद्धिदर शून्य देखिएको छ ।

सामान्यतया महँगी अर्थात् मूल्यवृद्धि (मुद्रास्फीति) बढेअनुसार तलब र ज्यालाको वृद्धिदर हुनुपर्छ । कोभिड–१९ का कारण अधिकांशले जागीर गुमाउनु परेको छ भने कतिपयले खाइपाई आएको तलब कटौती हुँदा महँगीको तुलनामा तलब बढ्न नसकेको सरोकारवालाहरू औंल्याउँछन् ।

समग्रमा तलब तथा ज्याला वृद्धिको सूचकांक गतवर्षको माघभन्दा पनि अहिले धेरै कम हो । गत माघ महीनामा उक्त सूचकांक ७ दशमलव ५१ प्रतिशतले बढेको थियो । यसअवधिमा ज्याला भने करीब मूल्यवृद्धिको नजीक आउन खोजेको देखिन्छ तर पनि सोही अनुपातमा छैन ।


प्रतिक्रिया दिनुहोस्