भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नाकामा कडाइ, नेपाल फकिर्नेहरुको नाकामै स्वास्थ्य परीक्षण हुने

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिएसँगै नेपालले भारतसँग सीमा जोडिएको नाकामा निगरानी बढाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।

गएको २४ घण्टामा मात्रै भारतमा ४३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको थियो । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो तीन दिनमा एक लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा संक्रममितको संख्या बढेसँगै खुला सीमा रहेको नेपालले नाकामा निगरानी बढाएको हो ।

नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भारतमा तिव्र गतिमा संक्रमण फैलिएसँगै रोजगारीका लागि गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । यसले सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूलाई नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो ।

मुख्यगरी भारतसँगका १४ नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको हो ।

सीमानाकालाई थप व्यवस्थित बनाउन आज स्थानीय सरकारसहित सम्बन्धित निकायलाई पत्राचार गरिने पौडेलले बताए । त्यस्तै भारतबाट आउने नेपालीलाई १४ दिन होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ ।

यसबीचमा ठूलाठूला सभा आयोजना भएकाले अब यस्ता सभा सम्मेलन रोक्ने तयारी पनि गरिएको छ । कोरोनाको जोखिम फेरि बढेकाले भीडभाड कम गर्न, अनिवार्य मास्क लगाउन, बेलाबेलामा साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न विज्ञले सुझाव दिएका छन् ।

नेपालमा दैनिक संक्रमितको संख्या न्यून रहेको भएपनि भारत भने नराम्रोसँग प्रभावित बनेको छ । संक्रमितको संख्या बढ्दै गएपछि भारतीय चिकित्सकसहित प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन् भने कयौं स्थानमा लकडाउन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्