एमालेमा समानान्तर गतिविधि– नेपाल पक्षले शनिबार युवाहरुको राष्ट्रिय भेला गर्दै

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेकपा नाम विवादमा सर्वोच्च अदालतले फागुन २३ गते सुनाएको फैसला पछि ब्यूँतिएको नेकपा एमालेमा आन्तरिक विवाद बढेसँगै पार्टीको असन्तुष्ट पक्षले समानान्तर अभ्यास शुरु गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षले एमालेमा समानान्तर गतिविधि सञ्चालन गरिरहेको छ ।

पार्टी भित्र आफ्ना एजेण्डाहरुलाई स्थापित गर्नेगरी ‘संघर्ष’ चलाइरहेको खनाल-नेपाल पक्षले विभिन्न प्रकारका प्रशिक्षण कार्यक्रमहरुलाई समेत अगाडि बढाएको छ ।

खनाल-नेपाल पक्षले आज (शनिबार) युवाहरुको राष्ट्रिय भेला बोलाएको छ ।

दुई दिने राष्ट्रिय कार्यकर्ता भेलापछि खनाल–नेपाल समूहले जनसंगठनको समानान्तर गतिविधि अघि बढाएको हो । शनिबार राष्ट्रिय सभागृहमा युवा संघ नेपालको भेला बोलाइएको आयोजक कमिटीका संयोजक नरेश शाहीले जानकारी दिए ।

भेलाले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सृदृढिकरण गर्ने तयारी भएको शाहीको दाबी छ । भेलालाई वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले ब्यूँतिएसँगै भ्रातृ संगठनहरूलाई पनि २०७५ जेठ २ को अवस्थामा पुर्‍याएको सो पक्षको जिकिर छ ।

भेलामा केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुखलगायतको पदाधिकारीहरू सहभागी हुनेछन् ।

आन्तरिक असन्तुष्टि बढेसँगै नेकपा एमालेको खनाल–नेपाल पक्षले कार्यकर्ता, महिला, किसानको छुट्टै भेला गरिसकेको छ । खनाल–नेपाल पक्षले शुक्रबार मात्रै महिलाको राष्ट्रिय भेला आयोजना गरिएको थियो ।

चैत १० गते विद्यार्थीको राष्ट्रिय भेला बोलाइएको छ । अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्