टेकोका भरमा भद्रकाली सत्तल, दर्शनार्थी त्रासमा

प्रकाशित मिति : असार २, २०७८ बुधबार


भद्रकालीस्थित गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय रहेको भवन भूकम्पपछि टेकोका भरमा अड्याइएको छ।

जीर्ण भएर टेकोका भरमा अड्याइएको भवनका कारण भद्रकाली मन्दिरमा आउने दर्शनार्थीसमेत त्रसित हुने गरेका छन्।

करिब १०० वर्षअघि बनेको भवन टेकोका भरमा राखिएको देख्दा मन्दिर वरपर बस्न असहज भएको दर्शनार्थी रामबहादुर श्रेष्ठको गुनासो छ। त्रासका कारण मन्दिरमा दर्शन गरेर भाग्नुपरेको उाको भनाइ छ।

संस्थानको अभिलेख, पुस्तकलायलगायत महत्वपूर्ण संरचना रहेको भवनमा अन्य सङ्घ संस्थाका साथै व्यापारिक कम्पनीसमेत भाडामा बसिरहेका छन्।

कार्यालयका सूचना अधिकारी श्रीरत्न शाक्य भवन बनाउन नक्सा तयार भइसकेको बताए। विसं २०३२ मा स्थापना भएदेखि कार्यालय भद्रकालीकै भवनमा राखिएको हो।

राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको निर्माण सामग्री प्रयोग गरेर भद्रकाली मन्दिरको सत्तल निर्माण भएको इतिहास विभिन्न दस्तावेजमा पाइएको कार्यालय प्रमुख राजेन्द्र दाहाल बताए।

भूकम्पले भवन क्षतिग्रस्त भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राथमिकता सूचीमा नपर्दा पुनःनिर्माण हुन नसकेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्