रेशम चौधरीको रिहाइलाई सरकारले लेनदेनको बिषय बनाउनु हुँदैन : यादव

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका छन।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधन र रेशम चौधरी रिहाइको कुरा गर्दा सरकारमा आउने प्रस्ताव गरिएको बताउँदै रेशम चौधरीको विषयलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका हुन।

चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुने उनको भनाइ छ। थारुहट आन्दोलनका सबै आन्दोलनकारीलाई राजबन्दीसरहको व्यवहार हुनुपर्ने र राजनीतिक समस्याको रुपमा लिएर समस्या समाधान गरिनुपर्ने उनले बताए।

उनले भने –‘हामी संविधान संशोधनका कुरा गर्दा तपाईहरु सरकारमा आइदिनु पर्यो। हामी रेशम चौधरीको कुरा गर्दा सरकारको लेनदेनको विषय बनाउँछन्। मलाइ लाग्छ, रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुदैन। त्यो शर्तको रुपमा बुझ्नु हुँदैन  नत्र त्यो राजनीतिक बेइमानी हुन्छ। त्यो राष्ट्रिय समस्या हो। राजबन्दी हो। त्यसलाई त्यही राजबन्दी सरह व्यवहार गरेर जसरी सिके राउत सँग व्यवहार भयो। जसरी नेत्रविक्रम चन्द सँग व्यवहार भयो त्यसैगरी थारुहट आन्दोलनमा भएका सम्पूर्ण आन्दोलनकारीहरु सँग राजबन्दीसरह व्यवहार गरेर राजनीतिक समस्या जसरी समाधान हुन्छ त्यसरी गरेर समाधान गर्नुपर्छ। न कि त्यसलाई सरकारमा आउने जाने, सरकारको लेनदेनको विषय।’

सांसद यादवले जसपा फुटको हल्ला मिडियामा आएको भन्दै कुनै लोभ लालचमा नफस्ने र पार्टीलाई नफुटाउने बताए। जसपाले सही समयमा सही निर्णय लिने उनको भनाई छ।

उनले भने–‘सहमतीको राजनीतिलाई अगाडी बढाउनुस् हाम्रो दल त्यसको लागि तयार छ। हाम्रो बारेमा मिडियामा जसरी कुरा आको छ कि जनता समाजवादी पार्टी अहिले निर्णायक छ। जनता समाजवादी पार्टी एकढिक्का छ। र कसैको कारणले हामी फुट्नेवाला छैनौँ। हामी कुनै लोभ, लालचमा फस्नेवाला छैनौँ । हामी विवेकपूर्ण, देशको हितमा हामी यो मुलुकलाई अगाडी बढाउनको लागि सही समयमा सही निर्णय लिन्छौँ।’

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नेकपाभित्रको विग्रह र फुटको कारण संसदमा अस्थिरता आएको भन्दै अस्थिरतालाई नियन्त्रण गर्न नसके प्रतिगामी शक्तिको चलखेल हुने बताइन्।

यसबाट लोकतन्त्र,गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता, जनजिवनमा क्षति हुने भएकाले सबैको ध्यान जानुपर्ने उनको भनाई छ।

नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकिकरणले मात्रै वर्तमान अस्थिरतालाई चिर्न सक्ने उनले बताइन्।

प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने पनि उनको भनाई छ। उनले भनिन् – ‘नयाँ जटिलतालाई चिर्नको निम्ति फेरीपनि अझै गम्भिर हुन जरुरी छ। अहिले देशमा जुन जटिलता र अस्थिरताको वातावरण जुन निर्माण भएको छ । त्यसको समाधान पुन सर्वोच्च अदालतको फैसला अनुसार बेग्लाबेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ ।’

नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद पुर्नस्थापना पछि सांसदहरुको खरिद हुने चिन्ता जनतामा रहेको बताए।

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिदा देश अस्थिरतामा जाने भएकाले नेमकिपा संसद विघटन र चुनावको पक्षमा उभिएको उनले स्पष्ट पारे।

मन्तव्यको क्रममा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मको नेपाली भुमिमा नेपालले कहिल्यै दाबी नउठाउने र एमसीसी सम्झौता पारित गर्ने शर्तमा भारतको संलग्नतामा प्रतिनिधि सभा पुर्नस्थापना गरिएको अनुमान गरिएको सुुनेको पनि दाबी गरे।

उनले भने – ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मको नेपाली भुमिमा नेपालले कहिल्यै दाबी नउठाउने र एमसीसी सम्झौता पारित गर्ने शर्तमा भारतको संलग्नतामा प्रतिनिधि सभा पुर्नस्थापना गरिएको अनुमान गरिएको सुनिन्छ। यस्तो देशघाति काम नेपाली जनतालाई स्वीकार्य छैन ।’

भारतसँगको खुल्ला सिमाना बन्द गर्नुपर्ने सांसद सुवालको भनाई छ। प्रतिनिधि सभाको अर्को बैठक चैत्र १० गते दिउँसो १ बजेका लागि बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस्