चीन र अमेरिकी वरिष्ठ अधिकारीबीच कार्यक्रममै एक घण्टासम्म चर्काचर्की

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


एजेन्सी । नयाँ अमेरिकी प्रशासन र चीनका वरिष्ठ अधिकारीहरूबीच भएको पहिलो प्रत्यक्ष बैठकमा दुवै पक्षबीच असामान्य चर्काचर्की भएको छ ।

अलास्कामा भएको बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले साइबर आक्रमण, दबावपूर्ण आर्थिक नीति तथा मानवअधिकारको विषयलाई लिएर चीनको आलोचना गरेका थिए ।

चीनका स्वेच्छाचारी व्यवहारका कारण विश्वव्यापी स्थिरता कायम गर्ने नियमहरू जोखिममा परेको उनले बताएका थिए ।

प्रत्युत्तर दिँदै चीनका वरिष्ठ कूटनीतिज्ञ याङ जियचीले वाशिङ्टनले आफ्नो शक्तिको प्रभावमा अन्य देशहरूलाई दबाउने गरेको आरोप लगाए ।

उनले अमेरिकाभित्र मानवअधिकारको अवस्था तल्लो बिन्दुमा पुगेको भन्दै अश्वेत अमेरिकीहरूको हत्या भइरहेको आरोप लगाए ।

लास्काको एङ्करेज सहरमा भएको उक्त बैठकमा भएको चर्काचर्की सञ्चारमाध्यमका प्रतिनिधिहरूले प्रत्यक्ष देखेका थिए । एक घण्टासम्म विवाद चलिरह्यो ।

शुक्रवार पनि बैठक जारी रहनेछ ।

सो बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिङ्कन तथा राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन अनि चिनियाँ विदेशमन्त्री वाङ यी तथा चीनका सबभन्दा वरिष्ठ विदेश नीतिसम्बन्धी अधिकारी याङ जियची सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्