उपत्यकाको सवारी जामले वर्षमा १ खर्ब १६ अर्ब ४० करोड भन्दा बढी आर्थिक घाटा

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । एक वर्षमा काठमाडौं उपत्यकाभित्र सवारी जामले देशलाई १ खर्ब १६ अर्ब ४० करोड भन्दा बढी आर्थिक घाटा भएको छ ।

सवारी साधनको जामले देशको अर्थशास्त्रलाई पारेको असरबारे गरिएको एक अध्ययन अनुसन्धानका अनुसार १ वर्षमा देशको अर्थतन्त्रमा यति धेरै घाटा देखिएको हो ।

आर्थिक बिषयका विभिन्न विधामा अनुसन्धान गर्दै आएका अर्थशास्त्री शेरजंगबहादुर चन्द लगायतको समूहले काठमाडौं उपत्यका भित्रको सवारी साधन जामले देशको अर्थशास्त्रलाई पारेको प्रभावबारे अध्ययन गर्दै शोध सार्वजनिक गरेका हुन् ।

शोधपत्रमा चन्दले काठमाडौं उपत्यका भित्र भइरहेको सवारी साधन जामले असर गर्ने अनुमानित देशको आर्थिक भार सम्बन्धि खोज गरेका हुन् । शोधपत्रमा जाममा पर्ने मानिसहरुले उक्त समयमा गर्न सक्ने आर्थिक भारको गणना गरिएको छ ।

उनले गणितीय अर्थशास्त्रको कल्पना गरि गणितीय मूल्य भारको आधारमा गणना गरेका छन् । शोधमा आवर्ती र गैर आवर्ती कार्यले जाम हुने गरेको उल्लेख गरेको छ ।

आवर्ती समस्यामा सवारी साधनको अनुपात अनुसार सरकारी नीति नबनेको, अव्यवस्थित सहरी विकास योजना, काठमाडौँका लागि अनुपयुक्त सार्वजनिक सवारी साधनहरु, असक्षम ट्राफिक प्रणाली, व्यक्तिगत सवारी साधनको बढी प्रयोग, सरकारी परिवहन नीति आदि रहेको शोधमा उल्लेख गरिएको छ ।

त्यस्तै गैर आवर्ती समस्यामा दुर्घटना, जुलुश, धर्ना, मौसमको गडबडी, बाटो(खानेपानी)बिजुली जस्ता बनाउने कार्य, बिना सूचना बाटो बन्द गर्ने कार्य जस्ता समस्या रहेको लेखिएको छ ।

सोधपत्रमा १ बर्षमा काठमाडौं उपत्यका भित्र मात्रै भएको जामले देशलाई अनुमानित १ खर्ब १६ अर्ब ४० करोड भन्दा बढी आर्थिक घाटा भएको देखाएको छ ।

जसमा उपत्यका भित्र सवारी जामको कारण आर्थिक व्यक्तिको समय ढिला भएको बार्षिक रकम ९ अर्ब १ करोड को हाराहारीमा रहेको देखाएको छ । यस्तै सवारी जामले गर्दा लाग्ने इन्धन खर्च सामान्य इन्धन खर्च भन्दा २ अर्ब ८२ करोड ७८ लाख बढी हुने गरेको अनुसन्धानमा देखिएको शोधमा उल्लेख गरिएको छ ।

सवारी साधन मूल्य ह्रासमा सामान्य मूल्य ह्रास भन्दा ४ प्रतिशतले बढी भएको अध्ययनले देखाएको छ जसको आर्थिक भार ३३ अर्ब १८ करोड रहेको छ । यस्तै सामान्य भन्दा कार्बन उत्सर्जन २८ प्रतिशतले बढी रहेको छ । जसको आर्थिक भार बार्षिक ७० अर्ब ५० करोड भन्दा बढी रहेको पाइएको शोधमा जनाइएको छ ।

त्यस्तै स्वास्थ्य उपचारमा उपत्यकाबासी समान्य भन्दा करीब ५ प्रतिशत बढी सवारी जामले बिरामी हुने गरेको र जसको आर्थिक व्यय भार बार्षिक २ अर्ब रहेको सोधपत्र मा उल्लेख छ ।

यस्तै सरकारले ट्राफिक व्यवस्थापनमा गर्नु पर्ने भन्दा बढी खर्च गर्नु परेको बाध्यात्मक आर्थिक व्ययभार बार्षिक १ अर्ब ९० करोड जति रहेको पाइएको अध्ययनले देखाएको छर यस्तै सडक, खानेपानी, बिजुली, ढल, मर्मत जस्तै विभिन्न मर्मतहरुमा लाग्ने रकम भन्दा ३ अर्ब ५९ करोड बढी रकम बार्षिक लाग्ने गरेको, साथै सवारी जामले दुर्घटना बढेको र उक्त बढेको दुर्घटना खर्च १ अर्ब २२ करोड हुने गरेको अध्ययनले देखाएको छ ।

देशको बजेट साढे १४ खर्ब रहेको जसमा पनि पूरै कार्यान्वयन नहुने अवस्थामा काठमाडौं उपत्यका जामको अर्थशास्त्रले मात्रै देशको बजेटको ८ प्रतिशत जति ओगट्न सक्ने देखिएकोले काठमाडौं मा हुने सवारी जामले देशलाई कति घातक छ भन्ने कुरा अध्ययनले देखएको छ ।

अध्ययनमा मान्छे औषत १७ दशमलब ५० मिनेट हिँड्ने र सार्बजनिक सवारी साधनलाई कुर्ने समय ७ दसमलब २५ मिनेट दिने गरेको पाइएको छ ।

यस्तै सार्बजनिक सवारी साधनमा ४९ दसमलब १७ मिनेट हिन्ने गरेको, कार चलाउने औसत समय ३५ मिनेट छ भने मोटर साइकल चलाउने औसत समय ३० दशमलब १७ मिनेट रहेको छ ।

साथै ३७ दशमलब १८ मिनेट समयमा ८ दसमलब ९४ किलोमीटर जाने गरेको देखाएको छ । अध्ययनले हिँड्ने मानिस औसत ७ मिनेट प्रति घण्टा, मोटर साइकल २१ मिनेट प्रति घण्टा, कार २७ मिनेट प्रतिघन्टा, सार्बजनिक यातायात ३४ मिनेट प्रतिघन्टा ढिला हुने पाइएको छ ।

यस्तै सवारी जामले बढी इन्धन खर्च हुने अध्ययनले दुइ पांग्रे २६ किमि प्रति लिटर, चारपांग्रे कार जीप ८ किमि प्रति लिटर चल्ने गरेको पाइएको अध्ययनमा जनाइएको छ ।

यस्तै सवारी जामले २८ प्रतिशत बढी कार्बन उत्सर्जन गर्ने गरेको, ४ बढी सवारी साधनको ह्रास कट्टी हुने गरेको, ५ प्रतिशत बढी बिरामी सवारी जामले हुने गरेको अध्ययनमा उल्लेख गरिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ट्राफिक प्रवाह ( बग्ने गति) ब्यस्त समयमा १४ कि मि प्रतिघण्टा, सामान्य समयमा ३२ कि मि प्रति घण्टा तथा राति को समयमा ५५ किमि प्रतिघण्टा रहेको पाइएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्