संसदमा माओवादीको प्रश्न : प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन, जिताहा शासक जस्तो गरेर हिँड्ने ?

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिँदा पनि प्रधानमन्त्री जिताहा शासकजस्तो गरेर हिँडेको आरोप माओवादीको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी सांसद पम्फा भुसालले सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएकी हुन् ।

‘नैतिकताको विषय हो भने राजनीतिमा मूल्य हुन्छ । मैले सोचेकी थिएँ, फागुन ११ गतेको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिने छ । अहिले पनि बढो जिताहा शासक जस्तो गरेर हिँड्ने कुराले आम नागरिकमा के पर्छ होला ? जिम्मेवारी नलिने राजनीतिज्ञका कारण राजनीति बदनाम छ,’ भुसालले भनिन् ।

भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सञ्चारमाध्यममा आएका कार्टुन हेर्न सुझाव पनि दिइन् ।

‘सारा मिडियाको कार्टुन हेर्‍यो भने के छ, अलिकति आत्मसमीक्षा गर्नुपर्दैन?, भुसालले भनिन्,’प्रधानमन्त्री निकटका साथीहरू छातीमा हात राखेर बिहान योगा हैन योगाका ठाउँमा आत्मसमीक्षा गरौं। नैतिक जिम्मा लिने संस्कृति विकास गरौं। त्यो लोकतन्त्रको अभिन्न अंग हो।’

उनले प्रतिनिधिसभा बैठकमा नेकपा एमालेको केपी ओली पक्षका सांसदहरु उपस्थित भएको भन्दै व्यङ्ग गरिन् ।

प्रतिगमन ठिक हो भन्ने सांसदहरु पनि बैठकमा उपस्थित भएको उनको भनाइ थियो ।

‘हामी मर्‍यौं। त्यही प्रतिगमन ठिक हो भनेर उपस्थित हुने साथीहरूलाई पनि बधाई भन्न चाहन्छुु, भुसालले भनिन् ।

एसिड आक्रमणविरुद्धको अध्यादेशमा आफूहरूको विरोध नरहेको उनले स्पष्ट पारिन् । ‘एसिड आक्रमणविरुद्धको अध्यादेशको कसैले विरोध गरेको छैन, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेका हौं’ उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस्