डोजरले ठक्कर दिएर महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालक पक्राउ

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । धादिङको सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालक पक्राउ परेका छन् ।

चालक भीमबहादुर बुढाथोकीलाई सिआइबीले पक्राउ गरेको हो । कञ्चनपुर बोर्डरबाट सिआइबीले उनलाई पक्राउ गरेको डिआइजी सहकुल थापाले जानकारी दिए ।

सिआइबीले आज पत्रकार सम्मेलन आयोजना गर्दै भाग्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जानकारी दिए ।

डिआइजी थापाका अनुसार महिलालाई डोजरले ठक्कर दिएर पछि उनी घाइते भइन् । बुढाथोकीले थाहा पाएर पनि जानीजानी पुरेछन् ।

त्यसपछि उनी फरार थिए । उनी भागेर हरिद्वार गएका थिए । जहाँ उनको दाइ बस्छन् ।

उनी चैत ३ गते नेपालगन्ज आएका थिए । विशेष सूचनाको आधारमा उनलाई पक्रन सफल भएको प्रहरीले जनाएको छ ।

गत फागुन १७ गते घाँस बोकेर घरतर्फ गइरहेकी धादिङकी एक महिलालाई डोजरले ठक्कर दिएपछि जिउँदै पुरेको थियो ।

प्रहरीका अनुसार सडक खन्न गाउँपालिकाले ठेक्का लगाएको सडक ठेकेदार कम्पनीको डोजरले सोही वडाकी ४५ वर्षीया सरस्वती कुमाललाई सुरूमा ठक्कर दिएको थियो ।

ठक्करबाट कुमाल घाइते भएपछि बुढाथोकीले उनलाई उद्धार गर्न छोडेर खाल्डोमा पुरेका थिए ।


प्रतिक्रिया दिनुहोस्