वाईसीएलका तत्कालीन उपत्यका इञ्चार्ज पूर्व राजासँग पैसा माग्न गएपछि…

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएलगत्तै लडाकुलाई शिविरमा सारिएको थियो ।

लडाकुलाई शिविरमा राखिएपछि माओवादीले अर्धसैन्य दस्ताका रूपमा योङ कम्युनिस्ट लिग (वाईसीएल) गठन गरेको थियो । देशभरका युवालाई समेटेर अर्धसैन्य दस्ता निर्माण गरेलगत्तै अर्को दल नेकपा एमालेले पनि यस्तै प्रकृतिको युथ फोर्स गठन गरेको थियो ।

दुवै संगठन अस्तित्वमा आएसँगै दुई पक्षीय भिडन्तका साथै युवा संगठनका नाममा ज्यादती बढेपछि दुवै पार्टीले आफ्ना संगठन निष्क्रिय पारेका थिए ।
त्यतिबेला वाइसीएल ब्यूतिने तयारी गरिएको छ । वाईसीएलले आगामी २८–३० जेठमा राष्ट्रिय भेला गर्ने भएको छ । कुनै समय हिंसात्मक गतिविधिका कारण आलोचित वाईसीएल अब फेरि ब्युँतने भएको छ ।

उपत्यका इञ्चार्ज नै राजावादी !

वाइसीएलका तत्कालीन उपत्यका इञ्चार्जका रुपमा निक्कै चर्चा कमाएका चन्द्रबहादुर थापा (सागर) अहिले राजावादी बनेका छन् । उनी हिन्दू राजतन्त्रको वकालत गर्दै एउटा पार्टी चलाइरहेका छन् ।

जनआस्थामा प्रकाशित समाचार अनुसार उनै सागर केही समय अघि पूर्व राजा ज्ञानेन्द्र शाहसँग राजतन्त्रको पक्षमा अभियान सञ्चालन गर्नका लागि भन्दै पैसा माग्न गएका थिए ।

समाचारमा भनिएको छ– कसै कसैले प्रचण्डले खोलिदिएको पार्टी पनि भन्छन्, तर उनको काम गर्ने शैली र प्रचण्डको पक्षधरतामा आकाश–जमिनको फरक छ । उनै सागर आफ्ना गतिविधि सञ्चालन गर्नका निम्ति पूर्वराजा ज्ञानेन्द्रसँग पैसा माग्न पुगे । तर, ज्ञानेन्द्रले सोचेभन्दा ९० डिग्री अन्तरको व्यवहार गरेर फिर्ता पठाउनुभयो । भन्नुभयो, ‘नेपाली जनताले चाहे भने फर्किन्छु । नभए यत्तिकै मर्छु । तर, पैसा खर्च गरेर राजाको पक्षमा नाराबाजी गराउन तयार छैन ।’

पूर्वराजाबाट यस्तो जवाफ पाएपछि सागर कार्यकारी राष्ट्रपतिको नारासहित सडकमा देखिएका छन् । उनले फागुन २१ गते हिन्दू राष्ट्र बनाउने एजेण्डासहितको आमसभा आयोजना गरे । त्यसमा पनि कार्यकारी राष्ट्रपतिको वकालत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्