एमालेमा विवादः खनाल–नेपाल पक्षको समानान्तर गतिविधि सुरु

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(एमाले) मा समानान्तर गतिविधी सुरु भएको छ ।

काठमाडौंमा बुधवार र विहीवार दुई दिन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरि देशभर पार्टीको समानान्तर कमिटी र गतिविधी गर्ने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले गतिविधी सुरु गरेको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पार्टी एकता अघिको स्थितिमा पु¥याएपछि नेकपा एमालेमा विवाद चर्किएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी निर्णय गर्दै अघि बढेपछि खनाल नेपाल समूह आक्रोशित बनेको थियो ।

आफू पक्षधरको केन्द्रीय कमिटी बैठक राखेर ओलीले एमालेका महासचिव बाहेकका पदाधिकारीलाई पदमुक्त गरेका थिए भने माओवादी केन्द्र छोडेर एमालेमा आएका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेका थिए ।

पार्टीमा कुनै सल्लाहविना एकलौटी निर्णय गरेको भन्दै खनाल नेपाल समूहले बिहीबारमात्रै २ दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरि १७ बुँदे प्रस्ताव पारित गरेको थियो ।

भेलाबाट पारित प्रस्तावअनुसार सो पक्ष शुक्रबारबाटै देशभर जनवर्गीय संगठनहरुको समानान्तर भेलामार्फत नेतृत्व छनोट गर्ने तयारी गरेको हो । सोही क्रममा शुक्रबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेला डाकिएको छ भने शनिबार युवा र १० चैतमा विद्यार्थीहरुको भेला डाकेको छ ।

काठमाडौँको कालीमाटीस्थित एक पार्टी प्यालेसमा बोलाइएको महिला भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि गत फागुन २८ गते अध्यक्ष केपी शर्मा ओली पक्षले महिला भेला बोलाएको थियो ।

त्यस्तै खनाल नेपाल समूहले युवा र विद्यार्थीको पनि समानान्तर कमिटी गठनको तयारी गरेको छ । समानान्तर कमिटीको नेतृत्व पाउनका लागि आकांक्षीहरुले लविङ गरिरहेका छन् ।

यसैबीच वरिष्ठ नेता माधव कुमार नेपालले पनि २ नम्बर प्रदेशका नेता तथा कार्यकर्ताहरुसँग सामूहिक भेटघाट तथा छलफल गरेका छन् ।

नेपाल निवास कोटेश्वरमा ११ बजेपछि छलफल भएको थियो । भेटघाटमा समसामयिक राजनीति, एमालेको सांगठनिक गतिविधिमाथि प्रदेश दुईमा आफ्नो पक्षको अवस्था लगायका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

त्यसैगरी उपाध्यक्ष भीम रावलले पनि सुदूरपश्चिमको आफूपक्षधर एमाले नेताहरुसँगको भेला आयोजना गरेका छन् ।

बानेश्वरस्थित अर्याल होटलमा भएको भेलामा करिब १ सय जना अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्