बंगलादेशले नेपाललाई नयाँ ट्रान्जिट रुट दिँदै छ- परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । बंगलादेशले नेपाललाई नयाँ ‘ट्रान्जिट रुट’ दिने भएको छ । चैत ९ गतेदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका क्रममा त्यससम्बन्धमा समझदारी हुने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार संघीय संसदको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै बंगलादेशले नेपाललाई नयाँ ट्रान्जिट रुट दिन लागेको र राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा त्यससम्बन्धमा समझदारी हुने बताए ।

‘सम्माननीय राष्ट्रपतिज्यूले चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । त्यस क्रममा उहाँले बंगबन्धु शेख मजबुर रहमानको शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँका राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यूसँग भेटघाट गर्ने कार्यक्रमहरु छ,’ परराष्ट्र मन्त्री ज्ञवालीले शुक्रबार संसद बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणबारे जानकारी दिँदै भने ।

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच हुने केही महत्वपूणर् सहमतिमा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताए ।
‘बंगलादेशले हामीलाई एउटा नयाँ ट्रान्जिट रुट दिने पनि सम्भावना रहेको छ,’ ज्ञवालीले भने, ‘सांस्कृति आदान-प्रदान र पर्यटनको क्षेत्रमा हामी महत्वपूणर् उपलब्धि हासिल गर्नेछौं ।’

बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निम्तोमा भण्डारी चैत ९ गते ढाका प्रस्थान गर्दैछिन् । भण्डारी चैत १० गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव र राष्ट्रपति कार्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।

राष्ट्रपति भण्डारी ढाकामा आयोजना हुने बंगलादेशका राष्ट्रपति बंगबन्धु शेख मजबुर रहमानको शतवार्षिकी समारोहमा सहभागि हुनेछिन् । उक्त अवसरमा भण्डारीले नेपाल र बंगलादेशको द्धिपक्षीय सम्बन्ध र मित्रताबारे सम्बोधन गर्ने जनाइएको छ ।

बंगाभवनमा दुई मुलुकका राष्ट्रपतिबीच शिष्टाचार भेट हुने छ । साथै राष्ट्रपति भण्डारीले सावरस्थित शहीद स्मारक र धनमन्डीस्थित बंगबन्धु स्मृति संग्रहालयको अवलोकन गर्नेछिन् ।

राष्ट्रपतिको भ्रमण टोलीमा सांस्कृतिक टोली पनि सहभागी हुने जनाइएको छ । सांस्कृतिक टोलीले शतवार्षिकी समारोहमा सांस्कृतिक प्रस्तुति दिनेछ ।


प्रतिक्रिया दिनुहोस्