सरकारले दुईवटा मुद्दा हारेको भएपनि अदालतको आलोचना गरेको छैन : मन्त्री ज्ञवाली

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारले दुइवटा मुद्दा हारे पनि अदालतको आलोचना नगरेको बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री ज्ञवालीले सरकारले अदालतको आलोचना वा आच्छेप लगाउने कुनै काम नगरेको बताएका हुन् ।

‘सरकारको हिसावले भन्ने हो भने, प्रधानमन्त्रीको हिसावले भन्ने हो भने हामी दुइटै मुद्दा हारेका छौं। मुद्दा हारे पनि हामीले अदालतलाई कुनै आलोचना वा आच्छेप लगाएका छौं न कुनै ढंगले अगाडि बढेका छौं’ उनले भने ।

अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको थियो । एमाले तथा माओवादी एकीकरण गरी बनाएको नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको पनि सर्वोच्चले फैसला गरिदिएको थियो । यसतर्फ संकेत गर्दै ज्ञवालीले दुवै मुद्दा हारेको उल्लेख गरेका हुन् ।

उनले सरकारका तर्फबाट ल्याइएका विधेयकहरू संसदमा टेबुल गर्न नपाएको पनि बताए । संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिइएको उनको भनाइ थियो । उनले एसिड आक्रमणमा संलग्नलाई सजाय र पीडितलाई न्याय दिने अध्यादेशसमेत संसदमा टेबुल गर्न नपाएको गुनासो पोखे ।


प्रतिक्रिया दिनुहोस्