५ लाख रुपैयाँको चेक बाउन्स भएपछि दुगड आइरन उद्योगका एमडी पक्राउ

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक (एमडी) प्रकाश दुगडलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर (चेक बाउन्स)सम्बन्धी मुद्दामा परेको उजुरीअनुसार छानबिनका लागि महानगरीय प्रहरी बृत्त कालिमाटीको टोलीले दुगडलाई पक्राउ गरेको हो ।

खातामा पर्याप्त मौज्दात नभएको जान्दा जान्दै भुक्तानी दिनुपर्ने रकमबापतको चेक दिएको भन्दै दुगडविरुद्ध महानगरीय प्रहरी बृत्त कमलपोखरीमा चेक अनादरको उजुरी परेको थियो ।

चेक अनादरको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गर्न उच्च अदालत पाटनको अनुमति लिएको थियो ।

उच्च अदालत पाटनकी न्यायाधीश रेखा थापा पाण्डेको १९ माघको इजलासले दुगडविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

अदालतले पक्राउ पूर्जी जारी गरेको ३ हप्तापछि प्रहरीले दुगडलाई उनको ताहाचलस्थित निवासबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार दुगले दिएको ५ लाख ३७ हजार रुपैयाँको चेक बाउन्स भएपछि उजुरी परेको थियो ।


प्रतिक्रिया दिनुहोस्