नेपाल-खनाल पक्षले पार्टी कमिटी ब्युँताउने

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीका सबै कमिटी र संगठन ब्युँताउने भएको छ ।

उक्त पक्षको बिहीबार सकिएको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले माओवादी केन्द्रसँगको एकता पूर्वको पार्टी कमिटी ब्युँताएर अघि बढ्ने निर्णय गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

भेलाले १७ बुँदे घोषणापत्र जारी गर्दै फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफू पक्षधर केन्द्रीय कमिटीका सबै निर्णय रद्द गर्न माग गरेको छ । वरिष्ठ नेता नेपालले भेलालाई सम्बोधन गर्दै आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका थिए ।

‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने पनि अन्तिम दमसम्म लड्छौं’, नेता नेपालले भने। स्थानीय जनप्रतिनिधिलाई पनि कारबाहीको धम्की दिइएको नेपालले बताए । उनले भने, ‘हटाउने हो भने हामीलाई हटाएर देखाऊन्। हामी तयार छौं ।’

उपमहासचिव घनश्याम भुसालले जनसंगठन र पार्टी कमिटी जेठ २ पूर्वकै अवस्थामा फर्काइने घोषणा गरे। ‘पार्टीका धेरै कमिटीमा हाम्रै साथीहरू हुनुहुन्छ । हामी आधिकारिक हौं, उनीहरू (ओली पक्ष) समानान्तर हुन, गुटबन्दी हुन’, नेता भुसालले भने ।

एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो । अदालतको आदेशपछि पार्टीका सबै कमिटी, सम्बद्ध जनसंगठन र पेसागत संगठनलगायत सबै संरचना माओवादी केन्द्रसँगको एकीकरणपूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानुनसम्मत र पद्धतिसम्मत हुने भेलाको निष्कर्ष छ ।

‘पार्टीलाई विधान, विधि र पद्धतिअनुरूप सञ्चालन गरेर मात्र नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिन्छ’, घोषणापत्रमा लेखिएको छ, ‘यसलाई क्षत विक्षत तुल्याउँदै राष्ट्रिय स्वाधीनतालाई समेत कमजोर बनाउने सबै प्रकारका षडयन्त्रलाई विफल गर्दै नेकपा (एमाले) लाई एकताबद्ध र सुदृढ बनाउन सकिन्छ ।’

सचिव योगेश भट्टराईले जेठ २ पूर्वका कमिटीमाथि प्रधानमन्त्री ओलीले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसलाई मान्यता नदिने बताए ।

भेलाले एमालेको एकता जोगाउन अध्यक्ष ओलीले फागुन २८ गते एकपक्षीय रूपमा गरेका केन्द्रीय कमिटीका निर्णय रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल–खनाल पक्षलाई जानकारी नदिई महासचिव बाहेक पार्टीका अरू पदाधिकारी हटाउने, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र माओवादी केन्द्रमा नफर्केका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय भएको थियो ।

‘यसप्रकारको कार्य सर्वोच्च अदालतको फैसलाको मर्मविपरीत तथा नेकपा (एमाले) को एकतामा भाँजो हाली पार्टीलाई विभाजन गर्दै अन्ततः नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर तुल्याउने र विसर्जन गर्नेतर्फ परिलक्षित रहेको छर्लंगै छ’, घोषणापत्रमा लेखिएको छ, ‘अतः पार्टी विधान, पद्धति र नेकपा (एमाले) को सिद्धान्त, नीति र अभ्यासविपरीत अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीको तर्फबाट भएका कथित निर्णय र कामलाई यो भेला पूर्णतः अस्वीकार गर्दछ ।’ फागुन २८ गतेका निर्णय सच्याएर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन भेलाले पार्टी अध्यक्ष ओलीसँग आग्रह गरेको छ ।

एमाले नेपाल समूहको दुई दिने भेलाको १७ बुँदे निष्कर्ष (पूर्णपाठ)
एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता भंग गर्ने सर्वोच्च अदालतको निर्णयप्रति भेलाले असहमति जनाएको छ । एकीकृत, सशक्त र सुदृढ कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यसाथ गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई षड्यन्त्रमूलक किसिमले छिन्नभिन्न पारिएको भेलाको निष्कर्ष छ ।

‘नेकपा (एमाले) लाई समेत फुटाई नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने र नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई नै कमजोर तुल्याउने देशी, विदेशी प्रतिक्रियावादीको षड्यन्त्रको भत्र्सना गर्दै’, घोषणापत्रमा लेखिएको छ, ‘त्यस्तो षड्यन्त्रलाई विफल तुल्याई राष्ट्रको अस्मिता तथा कम्युनिस्ट आन्दोलनको भविष्य सुरक्षित गर्न एकता र दृढतासाथ अग्रसर हुन नेकपा (एमाले) पार्टी पंक्तिका साथै सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिलाई यो भेला हार्दिक आह्वान गर्दछ ।’

ओलीको गुटबन्दीबाट भएका र हुन सक्ने पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकूलका कुनै पनि काम कारबाहीविरुद्ध दृढतासाथ अग्रसर हुन भेलाले आह्वान गरेको छ । भेलामा उपस्थित नहुन प्रधानमन्त्रीबाट धम्की दिइएको र त्यसलाई अस्वीकार गरिएको घोषणापत्रमा छ । भेलामा देशभरका ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्