चन्द्रगढी विमानस्थलमै बन्दै हवाई इन्धनको डिपो

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


झापा । हवाई सेवालाई सहज बनाउनका लागि अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ ।

डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ।

यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो।

नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको बताए।

सो जग्गामा रु पाँच करोडको लगानीमा यसै आर्थिक वर्षमा ६० हजार लिटर क्षमता भएको डिपो निर्माण गरिने भएको हो।

पूर्वाधार निर्माणका लागि नेपाल आयल निगम तथा आपूर्ति मन्त्रालयले टेण्डर आह्वानका लागि पहल गर्ने भएको उनले बताए। विमानस्थलमा डिपो निर्माणसँगै छदेखि सात दिनलाई पुग्ने इन्धन भण्डारण गर्न सकिने छ।

उनका अनुसार यसअघि चन्द्रगढी विमानस्थलका लागि चाहिने इन्धन छिमेकी मुलुक भारतको सिलगुढीबाट खरीद गरी सिधै विराटनगर पुर्याइने र गुणस्तरजाँचपछि मात्र चन्द्रगढी विमानस्थलमा ल्याउने गरिएको थियो।

“स्थायी संरचना नहुँदा विराटनगरबाट ट्याङ्करमा इन्धन ल्याउने र ट्याङ्करबाटै सप्लाई गर्नुपर्ने बाध्यता थियो”, उनले भने, “अब त्यो समस्याबाट मुक्त हुन्छ। सिलगुढीबाट खरीद गरिएको इन्धन सिधै चन्द्रगढीको विमनस्थलको डिपोमा फिल्टरसहित भण्डारण गर्न सकिन्छ।”

निगमका प्रमुख न्यौपानेले डिपोका लागि चाहिने ब्राउजरको व्यवस्थासमेत गरिसकिएको बताए।

दैनिक चन्द्रगढी विमनस्थलबाट नौ वटा विमानले उडान भरिरहेको छ। जसमा पाँच वटा बुद्ध एयर, दुई वटा यति एयर, एउटा श्री र एउटा सौर्य विमानले भद्रपुरबाट काठमाडौँ उडान भरिरहेको छ।

डिपो स्थापनासँगै सस्तो मूल्यमा सहज हिसाबले हवाई इन्धन उपलब्ध हुने पर्यटन व्यवसायी तथा अनिमेश ट्राभल्सका सञ्चालक गोपाल खनालले बताए।

उनले सिलगुढीबाट विराटनगरसम्म पु¥याएर इन्धन फिल्टर गरेर ल्याउनुपर्ने झन्झटिलो र महङ्गो प्रक्रियाको अन्त्य हुने भन्दै खुशी व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्