केपी ओलीलाई चुनौती दिइरहन्छौं, धुलो चटाउँछौं : माधव नेपाल

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा अध्यक्ष केपी ओलीको गलत क्रियाकलाप विरुद्ध बोल्न नरोक्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई गुटगत भेला रोक्न चेतावनी दिएपछि नेपाल पक्षले कडा विरोध जनाएको छ।

२ दिनदेखि जारी भेलाको अन्तिममा कार्यकर्ताले उठाएका सवालको जवाफ दिँदै नेता नेपालले आफूहरू कारबाही खेप्न तयार रहेको बताए ।

नेपालले भनेका छन्, ‘जनप्रतिनिधिबाट कारबाही शुरू गर्न सक्छन्। माथिबाटै शुरू गर्न सक्छन् पहिला हाम्रो टाउको अचानोमा राख्न तयार छौं। घाँटी छिनाए पनि हाम्रो शीर ठडिरहन्छ केपी ओलीलाई चुनौती दिइरहन्छौं’।

संसदीय दलको बैठकमा नआउने सांसदलाई कारवाही गर्ने चेतावनी ओली पक्षले दिइरहँदा नेता नेपालले आफूहरु कारवाहीमा पर्नसक्ने तर नभुक्ने बताएका हुन।

नेपालले अगाडी भनेका छन्, ‘उनको लिस्टबाट हाम्रो नामहरू हट्ला। तर, कम्युनिष्ट आन्दोलनबाट हटाउने शक्ति पनि छैन सम्भव पनि छैन। मैदान छाडेर हामी भाग्नेवाला छैनौं। पार्टी बनाएर आएका छौं। आन्दोलन उठाएर आएका छौं। फेरि पार्टी बनाउँछौं। आन्दोलन उठाएर लान्छौं । केपी ओलीलाई धुलो चटाउँछौ।’


प्रतिक्रिया दिनुहोस्