नेपाल–खनाल पक्षका नेताहरु भन्छन्ः पार्टी एकतावद्ध हुन ओलीले स्वेच्छाचारी गतिविधि सच्याउनु पर्छ

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौै ।  नेपाल कम्युनिष्ट पार्टी(एमाले) का वरिष्ठ नेता झलनाथ खनाल– माधव नेपाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

उक्त समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेता भिम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उदेश्यका साथ राष्ट्रिय भेला गरिएको बताए । भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उनको भनाइ छ । वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने कुरामा आफुहरुको जोड रहेको पनि उनले बताए ।

त्यस्तै नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ ।  अध्यक्षा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफुहरु सहितको अर्को बैठक बोलाउनुपर्ने नेता ठाकुर गैरेको भनाइ छ ।

नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको आरोप लगाउँदै एमालेलाई एकताबद्ध बनाउन ओलीको भुमिका हुनुपर्ने बताउँछिन् ।

पुराना कम्युनिस्ट नेता एवं उक्त भेलामा सहभागी मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गिय दृष्टिकोण छोडेको आरोप लगाए ।  ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेकाले समस्या उत्पन्न भएको बताए । नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफुहरु पनि गल्ती सच्याउन तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्