अनलाइनबाट बिजुलीको पैसा तिर्दा अब सेवा शुल्क लाग्ने

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । अनलाइनबाट विद्युत महशुल भुक्तानी गर्दा ५ रुपैयाँसम्म अतिरिक्त सेवा शुल्क लिन पाउने गरी नेपाल विद्युत प्राधिकरणले नयाँ सेवा प्रदायक नियुक्त गर्ने तयारी गरेको छ।

पाँचसय रुपैयाँ सम्मको बिजुलीको पैसा संकलन गर्दा भने सेवाप्रदायकले ग्राहकबाट थप सेवा शुल्क लिन पाउने छैनन् । तर, पाँचसय रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको महशुल भुक्तानी गर्दा भने बढीमा पाँच रुपैयाँ सम्म सेवा शुल्क लिन पाउने गरी नयाँ सेवा प्रदायकबाट निवेदन माग गरिएको प्राधिकरणले जनाएको छ ।

सेवा प्रदायकले ग्राहकबाट अधिकतम ५ रुपैयाँसम्म सेवा शुल्क लिन पाउने प्राधिकरणको प्रस्ताव छ। सेवा प्रदायकले पाँच रुपैयाँभन्दा कम सेवा शुल्क लिएर महशुल संकलन गर्न सक्ने भए सेवा प्रदायकले नै प्रस्ताव गर्नुपर्ने छ ।

त्यस्तै, अबदेखि एउटा ग्राहकले महिनामा अधिकतम पाँच लाख रुपैयाँसम्म महसुल भुक्तानी गर्न सक्ने छन्। पाँच लाख रुपैयाँ भन्दा बढी महसुल तिर्नुपर्ने भएमा भने ग्राहकले विद्युत प्राधिकरणका काउन्टरमै सम्पर्क गर्नुपर्ने छ ।

एउटा उपभोक्ताले एकै महिनामा दुई वा दुई पटक भन्दा बढी महशुल भुक्तानी गरेमा पनि एक पटक भन्दा बढी सेवा शुल्क लिन नपाइने प्राधिकरणको भनाई छ ।

 


प्रतिक्रिया दिनुहोस्