माधव समूहका नेता बाटोबाटै फर्किपछि बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक भएको हो ।

बालुवाटार बैठकमा वरिष्ठ नेता झलनाथ खनाल– माधवकुमार नेपाल पक्षका सांसदहरु सहभागी छैनन् ।

ललितपुरको सानेपामा रहेको एक होटलमा बिहीबार बिहान छलफल गरेर पहिले बालुवाटार बैठकमा जाने निर्णय गरेका उनीहरुले आन्तरिक विरोधपछि पुनः नजाने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको नेकपा भित्रको विवाद एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले एकता अघिको अवस्थामा लैजाँदासमेत कायम रहेको छ ।

फागुन २८ गते पार्टी अध्यक्ष ओलीले आफ्नो गुटका केन्द्रीय सदस्यको बैठक डाकेर अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेका थिए। साथै नेकपा माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

उक्त घटनापछि चिढिएको एमालेको खनाल नेपाल समूहले अलग्गै भेला डाकेको छ । उनीहरुले २८ गतेको बैठकले गरेका निर्णय खारेज गर्नुपर्ने बताउँदैआएका छन् । अर्कातिर, नेपाल समूहको भेलामा नजान र गएमा कारवाही गर्ने चेतावनी पार्टी अध्यक्ष ओलीले दिँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्