चार छोराछोरीसहित कर्णालीमा हाम फालेकी सुकीको पेटमा ४ महिनाको गर्भ

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


दैलेख । दैलेखको आठबीस नगरपालिका–३ मा चार छोराछोरीसहित आत्महत्या गर्ने ३५ वर्षीया सुकी बडुवालको पेटमा चार महिनाको गर्भ रहेको खुलेको छ ।

सुकीले गएको २३ फागुनमा चार छोराछोरीसहित कर्णाली नदीमा फाल हानेकी थिइन् । उनीहरु सबैको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । पोष्टमार्टम रिपोर्टले सुकीको पेटमा चार महिनाको गर्भसमेत देखिएको प्रहरीले जनाएको छ ।

दैलेख जिल्ला अस्पतालमा मृतक सबैको पोस्टमार्टम गरिएको थियो । जिल्ला अस्पताल अछामका प्रमुख डा अतुल भारद्वाजका अनुसार सुकीको पेटमा चार महिनाको गर्भ पाइएको थियो ।

गरिबी र पतिसँगको विवादको कारण सुकीले छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय छोरा ललितसँगै कर्णाली नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

गर्भपतन गर्ने विषयमा सुकीको पति मानसिंहसँग विवाद हुँदै आएको स्थानीयले बताएका छन् । मानसिंहले सुकी परपुरुषसँग लागेको आरोप लगाउँदै आएका थिए ।

फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उनकी तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका थिए ।

दुई छोरी १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालकोे हात बाँधेको अवस्थामा २४ गते सोमबार साँझ कर्णाली नदीमा शव फेला परेको थियो भने आमा सुखी बडुवाल र ८ वर्षीय छोरा ललित बडुवालको शव मंगलबार दिउँसो नदीमा फेला परेको थियो ।

घरमूली मानसिंह बडुवालले श्रीमतीसहित सबै परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि २३ गते साँझनै चार केटाकेटीसहित सुखी बडुवाल घरबाट निस्किएकी थिइन् ।

गरिब परिवार भएकाले एउटा समस्या थियो तर मदिरा सेवनसँगै लगातार पतिले अरुसँग लागेको भन्दै तनाव दिएपछि उनीहरू नदीमा हाम फाल्नुपर्ने अवस्था आएको प्रहरी अनुसन्धानले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्