रकम नभएको चेक दिएर १ करोड ८५ लाख रुपैयाँ ठगी गर्ने १ जना पक्राउ

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । बैंकिङ कसुरको मुद्दामा १ करोड ८५ लाख रुपैयाँ जरिवाना र १ महिना कैद सजाय सुनाइएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

उर्मिला कँडेलको जाहेरीले नेपाल सरकार वादी भएको मुद्दामा उच्च अदालत पाटनले १ करोड ८५ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र १ महिना कैद फैसला सुनाइएका ५१ वर्षीय उप्रेन्द्रप्रसाद ढुङ्गाना पक्राउ परेका हुन् ।

ढुङ्गानाविरुद्ध गत माघ ५ गते उच्च अदालतले पाटनले जरिवाना र कैद सजायको फैसला सुनाएको थियो ।

झापाको गौरादह नगरपालिका-१ घर भइ काठमाडौंको धुम्बाराही बस्दै आएका ढुङ्गानालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।

सीआईबीका अनुसार ढुङ्गानाले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नरहेको भन्ने जानी जानी ‘झुक्यानमा पारी’ उर्मिला कँडेललाई प्रभु बैंक लिमिटेडको सुकेधारा शाखाका कार्यालयबाट भुक्तान हुने भनी १ लाख ८५ हजार रुपैयाँ बराबरको चेक दिएका थिए ।

बैंकमा चेक साट्न जाँदा बाउन्स (अनादर) भएपछि कँडेलले ढुङ्गानाविरुद्ध बैंकिङ कसुरको उजुरी दिएकी थिइन् ।

अदालतले कँडेलको पक्षमा फैसला सुनाइ ढुङ्गानालाई १ महिना कैद सजाय तोकेको थियो । कैद र जरिवानाको सजाय बेरुजु रहेको अवस्थामा सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ढुङ्गानालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको सीआईबीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्