अमेरिकामा अन्धाधुन्ध गोली प्रहार– ६ एसियाली महिलासहित ८ जनाको मृत्यु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


जर्जिया । अमेरिकाको दक्षिण पूर्वी राज्य जर्जियाका ३ स्थानमा अन्धाधुन्ध गोली प्रहारको घटनामा परी ६ जना एसियाली महिलासहित कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा ४ जना र एट्लान्टाकै २ स्पामा ४ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको ।

मृत्यु हुनेमध्ये ४ जना कोरियाली भएको दक्षिण कोरियाले पुष्टि गरेको छ ।

अधिकारीहरूले तीनवटै घटनाका संलग्न रहेको आश‌ंकामा २१ वर्षका १ युवकलाई गिरफ्तार गरिएको बताएका छन्।

मंगलवारको घटनाको कारण बारे भने केही खुलाइएको छैन । तर हालैका दिनमा एशियाली मूलका मानिसले कोरोनाभाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एशियाली मूलमा मानिसप्रति घृणायुक्त अपराध बढेका छन्।

गत साता राष्ट्रपति जो बाइडनले एशियाली अमेरिकीप्रति भएको आक्रमण, दुर्व्यवहार र आरोपको खण्डन गरेका थिए ।

जर्जियामा भएका ३ मध्ये पहिलो आक्रमण स्थानीय समयानुसार बेलुकी ५ बजे योङ् एशियन मसाज पार्लरमा भएको थियो ।

प्रहरीका अनुसार २ जनाको घटनास्थलमै मृत्यु भएको र तीनजना अस्पताल लगिएकोमध्ये २ जनाको मृत्यु भएको थियो । त्यहाँ मारिएकामध्ये २ एशियाली महिला, १ जना श्वेत पुरुष र १ जना श्वेत महिला रहेका बताइएको छ ।

त्यसको एक घण्टाभन्दा कम समयमा उत्तर-पूर्वी एट्लान्टामा गोल्ड स्पामा लुटपाट भइरहेको खबर प्रहरीले पाएको थियो ।

एट्लान्टा प्रहरीले सीसीटीभीको भिडिओमा देखिएको शङ्कास्पद व्यक्ति खोज्दै जाँदा एट्लान्टाभन्दा २४० किलोमिटर पर रोबर्ट आरोन लङ्लाई समातेको बताएको छ।


प्रतिक्रिया दिनुहोस्