भेलाको अध्यक्षता झलनाथले गरे माधव नेपाल विशिष्ट अतिथि

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ।

ललितपुरस्थित होटल हेरिटेज गार्डेनमा सुरु भएको भेलाको अध्यक्षता वरिष्ठ नेता खनालले गरेका छन् भने नेता नेपाल विशिष्ट अतिथि बनेका छन् ।

भेलामा देशभरबाट एमाले कार्यकर्ता सहभागी भएका जनाइएको छ । भेलामा देशभरबाट तीन हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी हुने जनाइएको छ ।

खनाल–नेपाल पक्षका केन्द्रीय सदस्य दिलु पन्तका अनुसार भेलामा केन्द्रीय सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, संघ तथा प्रदेशका सांसदहरू, समन्वय समितिका प्रमुख र उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् ।

भेलामा सहभागीहरुलाई १० समूहमा विभाजन गरी छलफल गरिने भएको छ । देशभरबाट आएका सहभागीहरुलाई समूहगत रुपमा विभाजन गरी छलफल गर्न लागिएको हो ।

सहभागीलाई ७ प्रदेश, केन्द्रीय विभाग, केन्द्रीय निकाय र जनवर्गीय संगठनका आधारमा विभाजन गरिएको हो । १० समूहमा विभाजन गरी छलफल गर्ने र सुझाब लिने काम हुने उक्त समूहले जनाएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम विवादमा सुनाएको फैसालापछि ब्यूँतिएको एमालेमा आन्तरिक विवाद विभाजनकोस्तरमा पुगेको छ ।

फागुन २८ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ‘एकलौटी रुपमा’ केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेर र महाधिवेशनको मिति तोक्ने निर्णय गरेपछि वरिष्ठ नेता खनाल र नेपाल पक्षले छुट्टै कार्यकर्ता भेला बोलाएको हो ।

भेला भोलि बिहीबारसम्म चल्नेछ । देशभरबाट सहभागी सदस्यहरूले दिने सुझावका आधारमा आगामी रणनीति तय गरिने खनाल–नेपाल पक्षले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्