बल्खु हत्याकाण्ड- श्रीमतीको हत्यापछि गहना निकालेर भागेका थिए सन्तोष

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । काठमाडौंको बल्खुमा सोमबार साँझ मृत फेला परेकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्यामा संलग्न भनिएका उनका श्रीमान् सन्तोष सापकोटा पक्राउ परेका छन् ।

सोमबार साँज काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बोरामा पोको पारेको अवस्थामा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको शव फेला परेको थियो ।

घर पछाडिको पेटीमा राखिएको बोराबाट रगत बगेको देखेपछि स्थानीय तेज बहादुर सापकोटाले प्रहरीमा खबर गरेका थिए ।

प्रहरी पुगेर बोरा खोली हेर्दा तेजबहादुरकै भाउजु सन्तोषीको शव फेला परेको थियो ।

प्रहरी घरमा पुगेर शवको मुचुल्का गर्न थाल्दा सन्तोषीका पति सन्तोष सापकोटा भने त्यहाँबाट भागिसकेका थिए ।

प्रहरीले गरेको प्रारम्भिक जाँचका क्रममा सन्तोषीको टाउकोमा भारी बस्तुले प्रहार गरेर हत्या गरिएको देखिएको थियो ।

श्रीमतीको शव फेला परेर अनुसन्धान अगाडि बढाउँदा श्रीमान् भागेपछि प्रहरीले हत्यामा श्रीमान्कै संलग्नता रहेको आशंकासहित अनुसन्धान अगाडि बढाएको थियो ।

सोमबार सन्तोषीको शव फेला परेपछि भागेका सन्तोषलाई काठमाडौंको कुलेश्वरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

परिवारका सदस्यले प्रहरीलाई बताएअनुसार सन्तोष र सन्तोषीको बीचमा पटक पटक झगडा भइरहन्थ्यो । पतिसँग झगडा भएका कारण सन्तोषी जोरपाटीस्थित माइतीमा बस्थिन् । पति सन्तोषसँग उनले डिभोर्स मागेकी थिइन् ।

प्रहरीका अनुसार सोमबार बिहान ९ बजेतिर सन्तोषी सहकारीबाट ऋणको किस्ता बुझाउन भनेर जोरपाटीस्थित माइतीघरबाट निस्किएकी थिइन् ।

सानेपास्थित सहकारीबाट लिएको ऋणको किस्ता बुझाउने कामले बल्खुको घरमा पुग्दा पनि सन्तोषी र उनका पतिबीच झगडा भयो ।

बल्खुमा सन्तोष सापकोटा परिवारसँग बस्थे । उनीहरुले त्यहाँ काठ कारखाना पनि चलाएका छन् ।

सन्तोषका बुवा भक्तपुरमा फर्निचर पुर्‍याउन गएको बेला दम्पतीबीच झगडा हुँदा सन्तोषले उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टाउकोमा भारी बस्तु (ह्याम्मर) ले हानेर उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।

‘प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा भारी वस्तुले हानेर हत्या गरेको देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले भने, ‘मृतकका श्रीमान् शंकाको घेरामा छन् ।’

प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ देखि २ बजेको बीचमा सन्तोषीको हत्या भएको देखिएको छ ।

हार्डवेयर पसलमा काम गर्ने सन्तोषका भाइ तेजबहादुर साँझ मात्रै घर फर्किएका थिए । घर आउँदा घर पछाडिको पेटीमा राखिएको बोराबाट रगत बगेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरीका अधिकारीका अनुसार बेडरुममा हत्या गरेपछि सन्तोषीको शव बोरामा प्याक गरेर घर पछाडी पेटीमा राखिएको देखिन्छ ।

प्रहरीको अनुसन्धानबाट सन्तोषली श्रीमती सन्तोषीको हत्या गरी उनीसँग भएका गहना तथा नगदसमेत निकालेर लगी फरार भएका थिए ।

‘श्रीमतीको हत्या गरेपछि गर-गहना र नगद निकालेर शव सडकको पेटीमा राखी आफू चाहिँ गहना र नगद लगेर भागेका रहेछन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने । श्रीमतीको हत्यापछि सन्तोषले उनको सिक्री, बाला, मुन्द्रा र केही नगद रकम निकालेका थिए ।


श्रीमान–श्रीमतीको झगडा: बेडरुममा हत्या गरेर बोरामा प्याक गरी पेटीमा छाडियो शव


प्रतिक्रिया दिनुहोस्