प्रधानमन्त्रीलाई ‘साथ दिँदै’ राष्ट्रपतिले भनिन्– चुनावमा जाँदा के हुन्छ ?

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । गत पुस ५ मा प्रतिनिधि सभा विघटनको घोषणा गर्दा ‘प्रधानमन्त्रीको रबर स्टाम्प’ बनेको आरोप लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनावको पक्षमा आफ्नो अभिमत प्रकट गरेकी छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भनेर मंगलबार सर्वदलीय बैठक बोलाएकी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा साथ दिँदै ‘चुनाव गर्दा के हुन्छ र ?’ भनेर नेताहरुलाई प्रश्न गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरु सभागी थिए । सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहितका नेताहरु सहभागी थिए ।

मंगलबार अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा भएको बैठकको शुरुवमा राष्ट्रपति भण्डारीले छोटो मन्तव्य राखेकी थिइन् । शुरुवाती मन्तव्यमा राष्ट्रपति भण्डारीले नभेटेको धेरै भएकोले बोलाएको भनेकी थिइन् । यसबीचमा कोभिडका कारणले भेट्न नसकिए पनि आफू बंगलादेश भ्रमणमा जान लागेकाले बोलाएको उनको भनाइ थियो ।

राष्ट्रपतिको मन्तव्य सकिएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्नुभन्दा पहिला नै बोलाएको भए ‘राम्रो हुन्थ्यो’ भनेका थिए । त्यसपछि सामान्य कुराकानी गर्दै चियापान चल्यो । चियापान सकिने बेला प्रधानमन्त्री केपी शर्मा ओलीले केही बोल्नुपर्ने छ भन्दै समय मागेका थिए ।

प्रधानमन्त्री ओलीले संक्षिप्त मन्तव्य राख्दै प्रतिनिधि सभा विघटनको मुद्दालाई सर्वोच्च अदालतले उल्टाइदिए पनि फेरि पनि विघटन गरेर ‘ताजा जनादेशमा जान सकिने’ बताएका थिए । त्यसका लागि सबैंले छलफल गर्नुपर्ने पनि ओलीको भनाइ थियो ।

ओलीको उक्त अभिव्यक्ति पछि कांग्रेस वरिष्ठ नेता पौडेलले नै पहिला प्रतिवाद गरे । ‘संविधान मिच्नका लागि सल्लाह गर्ने ?’ कांग्रेस वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

पौडेल पछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि ‘ताजा जनादेशमा जाने’ प्रधानमन्त्रीको प्रस्तावको प्रतिवाद गरेका थिए । अहिलेको समयमा सर्वोच्च अदालतको (संसद पुनःस्थापना गर्ने) फैसला कार्यान्वयन गर्नका लागि बहस गर्नुपर्ने श्रेष्ठको भनाइ थियो ।

ताजा जनादेशको प्रस्तावमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले संसद शुचारु गर्ने त प्रधानमन्त्रीको जिम्मेवारी होला भनेर प्रश्न गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चिया पिउन बोलाएकोले अहिले आफू अन्य बहसमा नजाने बताए । प्रधानमन्त्रीको भनाइ अप्रिय रहेको उनको प्रतिक्रिया थियो ।

सर्वदलीय बैठकमा सहभागी एक नेताका अनुसार छलफल सकिएर सबै नेताहरु उठ्नै लाग्दा राष्ट्रपति भण्डारीले आफू चुनाव (मध्यावधि)को पक्षमा रहेको संकेत गर्दै धारणा राखेकी थिइन् । ‘छलफल सकिएको भनेर सबैजना उठ्दै थियौं, उठ्नै लाग्दा राष्ट्रपतिले चुनाव ठूलो कुरा त होइन ।

चुनाव गर्दा के हुन्छ र ? भनेर प्रश्न गर्नुभयो,’ नाम उल्लेख नगर्ने शर्तमा सर्वदलीय बैठकमा सहभागी ती नेताले भने, ‘उहाँले प्रधानमन्त्रीलाई साथ दिएको संकेत गरेजसरी नै आफू चुनावको पक्षमा रहेको धारणा राख्नुभो ।’


प्रतिक्रिया दिनुहोस्