सोर्स कोड कपी गरी सफ्टवेयर बनाएर बिक्री गर्ने ३ जना पक्राउ

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । एउटा सफ्टवेयरको सोर्स कोड हुबहु नक्कल (कपी) गरी अर्कै सफ्टवेयर बनाएर बिक्री गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

नेशनल सफ्टवेयर एण्ड आईटी सोलुशन प्रालि कम्पनीले सोही कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड तथा यूजर इन्टरफेसमा सामान्य परिवर्तन बाहेक हुबहु नक्कली गरी प्रिफेस टेक्नोलोजी प्रालि नामक कम्पनी सञ्चालन गरेको पाइएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका अनुसार सोर्स कोड तथा यूजर इन्टरफेसको दुरुपयोग गरी प्रिफेस टेक्नोलोजीका नामबाट विभिन्न संघ संस्थालाई सफ्टवेयर बिक्री वितरण गरेको पाइएको छ ।

प्रिफेस टेक्नोलोजी प्रालिको नाममा विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कार्य गरिएको हुँदा कम्पनीका ३ जना सञ्चालकलाई पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा प्रिफेस टेक्नोलोजी प्रालि बुटवलका सञ्चालकहरु दाङको लमही घर भएका ३९ वर्षीय बिमले केसी, रुपन्देहीको मायादेवी गाउँपालिका-५ घर भएका ४० वर्षीय श्याम बहादुर चौधरी र नवलपरासी (पूर्व) कावातासोती नगरपालिका-७ घर भएका ३६ वर्षीय शंकर ज्ञवाली छन् ।

काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी पक्राउ परेका तीनै जनाविरुद्ध अनुसन्धान थालिएको ब्यूरोका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्