प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट : निर्णय फिर्ता लिन ओलीले मानेनन्

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पदाधिकारी विघटन गरेको निर्णय फिर्ता नलिने अडान राखेका छन्।

आज एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र ओलीबीच पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको थियो।

अध्यक्ष ओलीले २८ गते गरेको पार्टी निर्णय फिर्ता नहुने स्पष्ट पारेका हुन।

बैठकमा नेपाल पक्षले २८ गते बसेको भनिएको केन्द्रीय कमिटीको बैठकको निर्णय फिर्ता लिएको घोषणा हुनुपर्ने सर्त अघि सारेको थियो ।

तर प्रधानमन्त्री ओलीले नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न भनेका थिए ।

“आफूले गरेको काम गरिहाल्ने, विधानअनुरुप भए हुने अरुले मानिदिनुपर्ने भन्ने कुरा हामीलाई स्वीकार्य हुँदैन,” छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेता भीम रावलले भने, “२८ गतेको निर्णय रद्ध गर्नुपर्छ । २८ गतेको भनिएको निर्णय स्थगित भयो भने हामी राष्ट्रिय भेला स्थगित गर्न तयार छौँ भन्ने धारणा राख्यौँ तर उहाँ तयार हुनुभएन।”

“करिब दुई घण्टा छलफल भयो। तर हाम्रो कुरा मिलेन,” उनले भने।

नेता रावलका अनुसार छलफल गर्दै जाने भनिए पनि अर्को बैठकको मिति निश्चित गरिएको छैन।

सर्वोच्च अदालतले फैसलाले अघिल्लो साता एमालेलाई ब्युँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालसहित दुई पक्षका नेताहरूको बैठक पहिलो पटक बसेको थियो।

आजको बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल भने अनुपस्थित थिए।

प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षले ४ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलाप्रति प्रश्न उठाउँदै आएका छन्। हिजो (आइतबार) एक कार्यक्रममा ओलीले नेपाल-खनाल पक्षले कुन हैसियतले भेला बोलाउन लागे भन्दै प्रश्न गरेका थिए।

सर्वोच्चको फैसलापछि एमाले ब्यँुतिएपछि ओलील्ो एकलौटी रुपमा आफ्नो र महासचिवको पद रहने बाहेक अरु सबै पदाधिकारीका पद खोसेका हुन। साथै पार्टीको जिम्मेवारीमा आफू पक्षीय नेतालाई जिम्मेवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्